छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला हुने

भक्तपुरमा छैटौँ भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८/०७९ हुने भएको छ।

‘औद्योगिक शान्ति नेपाल संस्था’ र मध्यपुर ब्वाइज व्याण्डको संयुक्त आयोजनामा मेला हुन लागेको हो। ‘नयाँ वर्ष नयाँ सोच युवाको लागि छ प्रगतिको स्रोत’ नाराका साथ २४ चैतदेखि ४ वैशाखसम्म मेला हुन लागेको हो। 

मेला सल्लाघारी तीनकुनेमा हुनेछ। 

मेलाका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले बताए। उनले अब तत्कालै यस क्षेत्रमा स्टल निर्माण कार्यका लागि तयारीमा जुटिसकेको जनाए।

मेलामा २०० भन्दा बढी स्टल राखिने जनाइयो। स्टलको साइज अनुसार कम्तीमा  ६ हजारदेखि १९ हजार ५०० सम्म शुल्क लिएर स्थानीय व्यापारीलाईसमेत स्टल उपलब्ध गराइने जनाइयो। 

मेलामा करिब ३ लाख भन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ। करिब ८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ। 
मेला संयोजक दीपक थापाले मेलामा बिक्री गरिने सामानमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको जनाए।

प्रकाशित मिति: : 2022-03-24 11:12:00

प्रतिकृया दिनुहोस्