अपहरणको नाटक गर्ने युवा पक्राउ

Symbolic photo
Symbolic photo

अपहरणमा परेको भन्दै अफवाह फैलाउने एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ।

दाङमा बम जस्तो देखिने शंकास्पद बस्तुराखी अपहरणमा परेको भनी झुट्टा अफवाह फैलाउने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ९ का २४ वर्षीय जनक देवकोटा रहेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाकारी दिएको छ।

देवकोटाले योजनाबद्ध तरिकाले शंकास्पद बस्तु राखेर आफू अपहरणमा परेको झुट्टो अफवाह फैलाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लले जानकारी दिए।  

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँ बस्तीस्थित हरिप्रसाद रिजालले सञ्चालन गरेको ड्रागन कृषि फर्ममा काम गर्दै आएका देवकोटाले कृषि फर्म सञ्चालकसँग रकम असुल्ने योजनाका साथ आफू अपहरणमा परेको नाटक गरेको रहस्य खुलेको प्रमुख काफ्लले बताए। 

गत आइतबार अपहरणमा परेको सूचना प्रहरी कार्यालयमा पुगेपछि खोजी कार्य गर्ने क्रममा देवकोटालाई हिजो लमही नगरपालिका ९ अमिलिया नजिकैको जंगलमा फेला पारिएको प्रहरीले बताएको छ। गत फागुन २७ गते साँझ कृषि फर्म नजिकै शंकास्पदबस्तु राख्ने व्यक्ति पनि उनै देवकोटा रहेको अनुसन्धानबाट खुलेको छ। 

पक्राउ परेका देवकोटाले रकम असुल्नका लागि योजनाका साथ गत आइतबार तुलसीपुर बजार जान्छु भनी घरबाट निस्किएको र बेलुका पख श्रीमतीलाई मोबाइल म्यासेजबाट अपहरणमा परेको कुरा पठाएका थिए। पक्राउ परेका देवकोटाविरुद्ध विस्फोटक पदार्थ सम्बन्धी कसुर र झुट्टा अफवाह फैलाउन नहुने कसुरमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रमुख काफ्लले जानकारी दिए।

 

 

प्रकाशित मिति: : 2022-03-23 20:19:00

प्रतिकृया दिनुहोस्