एकपक्षीय रुपमा गराइने चुनाव मान्य छैन : उपाध्यक्ष लामा

File Photo
File Photo

गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष सोनाम लामाले संघमा एकपक्षीय रुपमा गराइने चुनाव मान्य नहुने बताएका छन्।

उपाध्यक्ष लामाले प्रतिनिधि विवाद समाधान नगरी गराइने चुनाव मान्य नहुने बताएका हुन्।

'उच्चस्तरीय समितिले जिम्मा दिए अनुसार मैले केन्द्रीय सचिवालयको सहयोगमा प्रतिनिधि विवादबारे छानबिन गरी एउटा रिपोर्ट समितिलाई बुझाएँ। सोही रिपोर्टलाई आधार बनाइ उच्चस्तरीय समितिका संयोजक शेष घलेले निर्वाचन समिति समक्ष दावी विरोध गर्नु भयो। तर निर्वाचन समितिले उच्चस्तरीय समितिका संयोजकले गरेको दावी विरोधलाई सुनुवाई नै नगर्नु दुखको कुरा हो,' उपाध्यक्ष लामाले भने।

उनले अध्यक्ष कुमार पन्तले कार्य समितिमा छलफल नै नगरी एकपक्षीय रुपमा ३,६०० बढी प्रतिनिधिको सूची निर्वाचन समितिलाई पठाएको खुलासा पनि गरे।

'उच्चस्तरीय समितिका सदस्य पनि रहेका पन्तले समितिले काम गर्दागर्दै एकपक्षीय रुपमा विवादित सूची निर्वाचन समितिलाई पठाउनु र समितिले पनि सोही विवादित सूचीको आधारमा निर्वाचन कार्यक्रम अगाडी बढाउनुले मिलेमतो देखिएको छ। यसले निर्वाचनको निस्पक्षता माथि नै गम्भीर आशंका उत्पन्न गरेको छ।  यसरी गराइने एकपक्षीय चुनाव संसारभरि रहेका एनआरएनहरुलाइ मान्य छैन,' लामाले भने।

'अहिलेको विवाद मिलाउने जिम्मा प्रमुख संरक्षक डा. शेष घले र संरक्षक परिषदलाई दिनु पर्छ,' उपाध्यक्ष लामाले भने।

गत आइतबार बसेको राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुको बैठकले विधानविपरीत गत २ मार्चमा बोलाइएको बैठकका निर्णयहरुको कुनै कानूनी हैसियत नरहेको भन्दै प्रमुख संरक्षक शेष घले तथा संरक्षक परिषदलाई समस्याको समाधान गरी दशौँ महाधिवेशन गराउन आग्रह गरेको छ।

प्रतिनिधि सम्बन्धी विवादकै कारण गत अक्टोबर २०२२ मा हुनु पर्ने संघको दशौँ महाधिवेशन अझै हुन सकेको छैन।

प्रकाशित मिति: : 2022-03-08 12:22:00

प्रतिकृया दिनुहोस्