गण्डकी प्रदेशको आइटी पार्क निर्माण सुरु, कानुनमन्त्रीले गरे पर्खालकाे शिलान्यास

गण्डकी प्रदेशको आइटी पार्क निर्माण कार्यको सुरु भएको छ। सोमबार कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले आइटी पार्क निर्माणको शिलान्यास गरेका हुन्।

करिब ९६ रोपनी जग्गामा निर्माण हुँदै गरेको आइटी पार्कको पर्खाल निर्माणको शिल्यान्यास गरिएको हो। मन्त्री थापाले पर्खाल निर्माणको शिल्यान्यास सँगै आइटी पार्क निर्माणको कार्य अगाडि बढेको जानकारी दिए।

‘पर्खाल निर्माणको शिल्यान्याससँगै आइटी पार्क निर्माण कार्य शुभारम्भ भएको जानकारी गराउन पाउँदा खुशी लागेको छ’, मन्त्री थापाले भने, ‘सूचना प्रविधि पार्कको विस्तृत प्रतिवेदनको कार्य समेत अगाडि बढिरहेको र गण्डकी प्रदेश सरकार आइटी पार्क निर्माण कार्यलाई पूर्णता दिन प्रतिबद्ध छ।’

पोखरा महानगरपालिकाबाट ९६ रोपनी जग्गा गण्डकी सरकारको मातहतमा आएसँगै तत्कालिन आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइटी पार्क निर्माणको तयारी थालेको थियो। जसको निर्माण कार्यको शुभारम्भ कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयले गरेको छ।

मन्त्री थापाले पार्क निर्माणका लागि प्रदेश सरकारले अब ढिलाई नगर्ने बताए। उनले सूचनाप्रविधि पार्कको सहज पहुँच प्रत्येक प्रदेशवासीलाई पुर्याउने उद्देश्य स्वरुप प्रदेश सरकार अगाडि बढीरहेको उल्लेख गरे।

पार्क निर्माण कार्यमा स्थानीयको सहयोग सबैभन्दा महत्वपूर्ण भएको उनको भनाई छ। ‘स्थानीयको सहयोग बिना आइटी पार्क निर्माण कार्यलाई गतिशिलता दिन हामी असमर्थ छौं’, मन्त्री थापाले भने,  ‘आशा छ सबैको सहयोग मिल्नेछ।’

पोखरा महानगरपालिकालाई स्मार्ट महानगरपालिका बनाउनका लागि पनि आइटी पार्कको भूमिका महत्वपूर्ण हुने विश्वास मन्त्री थापाको छ।

आइटीसँग सम्बन्धित नयाँनयाँ प्रविधिको उत्पादन गर्ने, प्रदेश सरकारले आफ्नो तथ्यांक भण्डारण एवं सुरक्षित गर्नेसँगै प्रदेशअन्तर्गत आइटीसँग सम्बन्धित सबै संस्थाहरुको कार्यालय राख्ने गरी पार्क निर्माणको सोच बनाएको मन्त्रालयका सचिव धर्मराज कुईकेलले बताए।

उनले गण्डकी सरकारले बनाउन लागेको आइटी पार्क केवल मनोरञ्जनका लागि मात्र नभई अध्ययन अनुसन्धान लागि महत्वपूर्ण हुने बताए। पोखरामा डाटा सेन्टर, आइटीसँग सम्बन्धित नवप्रवर्तन इन्नोभेसन र नयाँनयाँ प्रविधि पत्ता लगाउने इन्भेन्सनका काम पार्कबाट हुने उनको भनाई छ।

प्रकाशित मिति: : 2022-03-07 18:12:00

प्रतिकृया दिनुहोस्