उदयपुरमा प्रहरीद्वारा मास्क वितरण

जिल्ला प्रहरी कार्यालय उदयपुरले कोरोना भाइरस संक्रमण तीव्र फैलिन थालेपछि सतर्कता अपनाउँदै मास्क वितरण थालेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको मातहतमा रहेको ३८ ओटै प्रहरी युनिटबाट मास्क वितरणको काम भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जिल्लाभर एकैसाथ मास्क प्रयोग नगर्ने सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए। जिल्ला प्रहरीले आफ्नै श्रोतबाट सर्वसाधारणलाई सचेतना जगाउन मास्क वितरण गरेको हो। 'नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्दै मास्क वितरण गरेका हौं,' प्रनाउ गौतमले भने, 'मास्क वितरणसँगै स्वास्थ्य मापदण्ड अपनाउन सचेतना फैलाएका छौं।'

जिल्ला प्रहरी कार्यालय, ७ वटा इलाका प्रहरी, १ नगर प्रहरी, १६ प्रहरीचौकी र अस्थायी प्रहरी चौकीहरूबाट सर्वसाधारणलाई मास्क वितरण गरिएको हो। प्रहरीले जिल्लाको मुख्य व्यापारिक केन्द्रहरू गाईघाट, कटारी, बेल्टार, मुर्कुचीमा दिनभर खटिएर मास्क वितरण गर्‍यो। बजार क्षेत्र मात्र नभई ग्रामीण भेगमा समेत विभिन्न युनिटहरूले वितरण गरेको थियो। प्रहरीले मास्क वितरणसँगै कोरोनाविरुद्ध सचेत रहन सचेतना जगाउने काम गरेको छ। कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेका छन्।

बजार क्षेत्र र समुदायमा सर्वसाधारणले मास्क प्रयोग नगर्ने, भौतिक दुरी कायम नगर्ने, स्यानिटाइजर प्रयोग नगर्ने, साबुन पानीले हात नधुने जस्ता लापरबाही अत्यधिक देखिएको प्रनाउ गौतमले बताए। प्रहरीले यसरी नै सचेत गराउने अटेर गरेमा प्रशासनले कारबाही गर्ने बताइएको छ। सकेसम्म सर्वसाधारणलाई कारबाही गर्न नपरोस्, आफै सचेत बनोस् भन्ने हेतुले पहरीले यो कदम चालेको जनाएको छ।

गाईघाट बजारको मुख्यचौकको आसपासमा खटिएको विभिन्न प्रहरी टोलीले पैदल यात्रु तथा सवारीमा चढेका यात्रुलाई राकेर मास्क प्रयोग गर्न सम्झाएका थिए। उनीहरूलाई निःशुल्क मास्क दिँदै कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेकोप्रति सचेत गराएका थिए। 

मास्क सधैँ प्रयोग गर्न अनुरोध गरेका थिए। सर्वसाधारणले प्रहरीको अनुरोधलाई सहर्ष स्विकार्दै मास्क प्रयोग गरेका थिए। भिडभाडमा, बजारमा, विभिन्न कार्यक्रम र कार्यालयहरूमा मास्क अनिवार्य प्रयोग गर्ने सर्वसाधारणले प्रतिबद्धता गरेका थिए। 

प्रकाशित मिति: : 2022-01-22 22:21:00

प्रतिकृया दिनुहोस्