जुम्लामा बढ्न थाल्यो कोरोना, एकैदिन १५ जना संक्रमित

Symbolic photo
Symbolic photo

जुम्लामा कोरोना संक्रमणको दर उच्च बन्दै गएको छ। १७ जनामा परीक्षण गर्दा १५ संक्रमित भएका छन्। जसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक राजीव शाहसहित १५ जना रहेका छन्।

तेस्रो लहरको कोरोना संक्रमणमा हालसम्म २५ जना संक्रमित भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइले बताइन्। 

'२ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ' उनले भनिन्, 'बाँकी २३ जनाको स्वास्थ्य अवस्था सामान्य भएकाले होम आइसोलेसनमा छन्।' १७ जनाको परीक्षण गर्दा १५ जनालाई संक्रमण देखिनु जुम्ला पनि हाइरिक्समै रहेको उनको भनाइ छ।

जुम्लामा संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको थियो। यसमध्ये ४ सय ६३ जनामा संक्रमण देखिएको थियो।

दोस्रो लहरको संक्रमण जुम्लामा ०७८ वैशाखदेखि देखिएको हो। ३ हजार ८ सय २१ जनाको पिसिआर परीक्षणमध्ये १ हजार २ सय २४ संक्रमण देखिएको थियो भने ३ हजार ८ सय २ जनाको एन्टिजेन परीक्षणमध्ये ४ सय ५६ जना संक्रमित भएका थिए।

जम्मा १ हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ। 

जिल्लामा ५० हजार ९ सय ८५ जनाले पहिलो डोज कोभिडविरुद्धको खोप लगाएका छन्। पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ जना रहेका छन्।

प्रकाशित मिति: : 2022-01-22 20:38:00

प्रतिकृया दिनुहोस्