'प्रदेश २ को नाम 'मधेश प्रदेश' राख्नु सकारात्मक'

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले प्रदेश नम्बर २ को नाम 'मधेश प्रदेश'  राख्नुलाई सकारात्मक लिएको बताएका छन्।

सोमबार प्रदेश नम्बर २ को संसदले प्रदेशको नाम मधेश राखेपछि नेता साहले मधेशी राष्ट्रिय पहिचानलाई स्थापित गर्न एउटा सकारात्मक प्रयास भएको बताएका हुन्। 

साझा मधेशी पहिचानसहित मधेश राज्य स्थापना गर्न जनयुद्धको बेला आफैँले मधेशी राष्ट्रिय मुक्ति मोर्चाको गठन तथा कमान्ड गरेको स्मरण गर्दै नेता साहले कम्तीमा प्रदेशका सांसदहरूले नाम राखेकोमा सन्तोष व्यक्त गरे।

'जनयुद्धमा रहेको बेला मधेशलाई राष्ट्रियताको रूपमा व्याख्या गर्दै हामीले मधेशी राष्ट्रिय मुक्ति मोर्चालाई अगाडि सारेका थियौं। त्यसको कमान्ड पनि गरेँ। तर नेतृत्वको ग़लत भूमिकाले गर्दा त्यसबेला सफल हुन सकेनू नेता साहले भने, 'आज प्रदेश २ को सभाले मधेश प्रदेश नामाकरण गर्नुलाई मैले सकारात्मक रुपमा लिएको छु।'

आज प्रदेश २ को सभाले प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरलाई अत्यधिक बहुमतले पारित गरेको छ।

प्रकाशित मिति: : 2022-01-17 21:36:00

प्रतिकृया दिनुहोस्