धुर्मुस–सुन्तली फाउण्डेशन भन्छ : रकमको दुरुपयोग सोँच्न पनि सक्दैनौँ

File photo
File photo

धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रकमको दुरुपयोग सोँच्न पनि नसकिएको बताएको छ।

फाउण्डेशनले सोमबार फेसबुक पेजमार्फत एक विज्ञप्ति जारी गर्दै परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कुराको गुन्जायस नरहेको प्रष्ट पारेको हो।

‘सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं। परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं’, फाउण्डेशनले भनेको छ। त्यस्तै, आर्थिक प्रगतिको सम्बन्धमा २०७८ पुस मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन एक/दुई दिनमै प्राप्त हुने र त्यो सम्बन्धित पक्षलाई बुझाएपछि परियोजनाको वास्तविक आम्दानी/खर्च सार्वजनिक गरिने फाउण्डेशनले जनाएको छ।

फाउण्डेशनले रामपुरमा बनाइरहेको रंगशालाको सरकारी तवरबाट आर्थिक तथा भौतिक प्रतिवेदन तयार गर्ने काम भइरहेको छ। भरतपुर महानगरपालिकाले रंगशालाको प्रारम्भिक प्रतिवेदन तयार गरेर युवा तथा खेलकुद मन्त्रालयमा बुझाइसकेको छ। प्रारम्भिक प्रतिवेदनअनुसार रंगशालाको भौतिक प्रगति १४ प्रतिशत र खर्च ५१ करोड भएको छ। मन्त्रालयले प्रतिवेदनलाई अन्तिमरुप दिने बताइएको छ।

चरम आर्थिक अभाव भएपछि फाउण्डेशनले गएको २ पुसमा महानगरलाई पत्र लेख्दै रंगशालाको स्वामित्व ग्रहण गरिदिन आग्रह गरेको थियो। यसबीचमा रंगशालाको प्रारम्भिक प्रतिवेदनमा फाउण्डेशनले बताएको भन्दा कम भौतिक प्रगति र खर्चको विवरण आएपछि आर्थिक अनियमितता भएको गुनासो आएको थियो।

‘गत २ पुसको निर्णयपश्चात भरतपुर महानगरपालिकाको तर्फबाट दुवै प्रतिवेदनको मुल्यांकन शुरु गरी भौतिक प्रगतिको प्रारम्भिक प्रतिवेदन आएको छ भने त्यसलाई पुर्ण बनाउन थप मुल्यांकन भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ।

रंगशाला निर्माणमा आर्थिक अनियमितता भएको भन्दै भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले छानविनका लागि अख्तियारमा समेत उजुरी दर्ता गरको छन्। रंगशालामा भरतपुर महानगरसहित केहि स्थानीय तहको समेत बजेट परेकाले अख्तियारले त्यसको छानविन गर्दै छ। 

परियोजना सम्बन्धि भ्रमपूर्ण रुपमा प्रकाशित समाचार र टिप्पणीप्रति फाउण्डेशन दुखित भएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताएका छन्। फाउण्डेशनका तर्फबाट आर्थिकलगायतका सबै सबै विवरण सार्वजनिक नहुँदासम्म कपोकल्पीत आरोप नलगाउन उनले आग्रह गरेका छन्।

क्रिकेट र समग्र खेलको क्षेत्रको विकासका लागि भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न फाउण्डेशन र महानगरबीच १६ माघ २०७५ मा सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार महानगरले रामपुरमा २० बिघा जग्गा फाउण्डेशनलाई उपलब्ध गराएको थियो। आर्थिक अभाव सिर्जना भएपछि पाँच महिनादेखि रंगशालाको काम ठप्प छ।

प्रकाशित मिति: : 2022-01-17 19:46:00

प्रतिकृया दिनुहोस्