अख्तियारमा उजुरी परेपछि धुर्मुस–सुन्तलीको प्रस्टीकरण : केही दिनमै खर्च सार्वजनिक गर्छाैँ

File Photo
File Photo

चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माणमा अनियमितता भएको भन्दै उजुरी परेपछि धुर्मुस–सुन्तली फाउन्डेशनले एक दुई दिनमै खर्च विवरण सार्वजनिक गर्ने बताएका छन्।

रंगशाला निर्माण गर्न नसक्ने भन्दै हात झिकेपछि फाउन्डेसनका सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीविरुद्ध आर्थिक अनियमितताको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

आफूविरुद्ध उजुरी परेपछि सोमबार फाउन्डेसनको तर्फबाट प्रस्टीकरण जारी गर्दै उनीहरुले रंगशाला निर्माणको सुरुवातीदेखि पुस २०७८ सम्मको लेखापरीक्षण भइरहेको र केही दिनमै परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गर्ने बताएका छन्।

‘आर्थिक प्रगति सम्वन्धमा फाउन्डेसनको तर्फबाट सुुरूवाती दिनदेखि ०७८ पुस मसान्तसम्मको सम्पूर्ण खर्चको लेखापरिक्षण धमाधम भइरहेको र सोको प्रतिवेदन आजभोलिमै फाउन्डेसनमा उपलब्ध हुने जानकारी गराउन चाहन्छौं। उक्त प्रतिवेदन सम्वन्धित पक्षलाई बुझाएर फाइनल भएपछि परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गरिनेछ,’ जारी प्रस्टीकरणमा उल्लेख छ।  

यस्तो छ प्रस्टीकरण:

राष्ट्रिय गौरवको परियोजनाका रुपमा क्रिकेट र समग्र खेल क्षेत्रको विकासका लागि धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा तीन वर्षअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण परियोजनाको थालनी भएको सर्वविदितै छ। २०७५ साल माघ १६ गते राष्ट्रिय सभा गृह काठमाडौंबाट तत्कालीन प्रधानमन्त्री एवं विभिन्न दलका शीर्ष नेताका साथै विभिन्न विधाका राष्ट्रिय व्यक्तित्वहरुको समुपस्थितिका बीच सम्झौतापत्रमा हस्ताक्षर भएर काम सुरु गरिएको थियो।

कोरोना महामारी तथा अनेकौं आरोह–अवरोहका बाबजुद पनि रंगशाला निर्माणको काम निरन्तर अघि बढिरहँदा स्रोत व्यवस्थापनको पाटो भने चुनौतिपूर्ण बन्दै गयो। अपेक्षित  जनसहयोग जुट्न सकेन। विगत ५ महिनादेखि निर्माण सामग्री उपलब्ध गराउन नसकेको अवस्था र विभिन्न कम्पनीहरुलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम बढ्दै गएपछि अन्ततः संरचना अन्तरगतको निर्माण कार्य स्थगित गर्न वाध्य हुनु पर्यो।

यसको उचित निकासका लागि फाउन्डेसनले युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय र भरतपुर महानगरपालिकासँग पटकपटक छलफल गरी भरतपुर महानगरपालिकामा गत पुस २ गते स्वामित्वग्रहणको लागि अनुरोधपत्र बुझाइएको हो। सोभन्दा पहिले २०७८ साल मङ्सिर २१ गते भरतपुर महानगरपालिकाले फाउन्डेसनलाई पत्राचार गरेअनुरुप फाउन्डेसनको तर्फबाट २०७८ साल मङ्सिर २३ गतेसम्मको अनुमानित आम्दानी–खर्चको विवरण, भुक्तानी दिनुपर्ने रकम र सोको विवरण तथा २०७८ साल असार मसान्तसम्मको लेखापरिक्षण प्रतिबेदन र भौतिक प्रगति प्रतिवेदन बुझाइएको थियो।

गत पुस २ गतेको निर्णयपश्चात भरतपुर महानगरपालिकाको तर्फबाट दुवै प्रतिवेदनको मुल्यांकन शुरु गरी भौतिक प्रगतिको प्रारम्भिक प्रतिवेदन आएको छ भने त्यसलाई पुर्ण बनाउन थप मुल्यांकन भइरहेको छ। आर्थिक प्रगति सम्वन्धमा फाउन्डेसनको तर्फबाट शुरूवाति दिनदेखि ०७८ पुस मसान्तसम्मको सम्पूर्ण खर्चको लेखापरिक्षण धमाधम भइरहेको र सोको प्रतिवेदन आजभोलिमै फाउन्डेसनमा उपलब्ध हुने जानकारी गराउन चाहन्छौं। उक्त प्रतिवेदन सम्वन्धित पक्षलाई बुझाएर फाइनल भएपछि परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गरिनेछ।

स्वदेश तथा विदेशमा रही परियोजनालाई सहयोग गर्नुहुने सहयोगी मनहरुका कारणले नै रङ्गशाला निर्माण यो अवस्थासम्म आइपुगेको छ। सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं। परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं।

हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको र परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात हामी सबै विवरण सार्वजनिक गर्ने नै छौं। अहिलेलाई हामी मूल्यांकनको सहयोगी बनेर अघि बढेका छौं।

पछिल्लो समय परियोजनासम्बन्धी वास्तविकता नबुझी भ्रमपूर्ण रुपमा प्रकाशन÷प्रशारण गरिएका समाचार, टिकाटिप्पणी तथा अन्य गतिविधिलाई लिएर हामी अत्यन्त चिन्तित र दुखी छौं। हाम्रोतर्फबाट आर्थिक लगायतका सबै विवरण सार्वजनिक नहुञ्जेलसम्म कपोलकल्पित आरोपहरु बन्द गरी परियोजनालाई माया गरिदिनुहुन हार्दिक अपिल र अनुरोध गर्दछौं।
 

प्रकाशित मिति: : 2022-01-17 16:52:00

प्रतिकृया दिनुहोस्