प्रदेश २ : नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ मा मतदान गर्न मन्त्री साहको आग्रह

File Photo
File Photo

प्रदेश २ का अर्थमन्त्री एवम् प्रदेशसभा सदस्य शैलेन्द्रप्रसाद साहले प्रदेशको नामकरण ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ मा मतदान गर्न प्रदेशसभा सदस्यहरूलाई आग्रह गरेका छन्।

प्रदेशका नाम र राजधानी टुंगो लगाउन प्रदेशसभामा सोमबार हुने मतदान अघि मन्त्री साहले विज्ञप्ति जारी गर्दै मधेश विद्रोहका पृष्ठभूमि, जनविद्रोहबाट प्रतिबिम्बित जनचाहना र सार्वजनिक आवश्यकताका सिद्धान्त तथा व्यवहारका आधारमा प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम हुनुपर्ने आग्रह गरेका हुन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेतासमेत रहेका मन्त्री साहले बहुविध भाषिक र सांस्कृतिक समुदायलाई सम्बोधन गर्ने मधेश शब्दको स्वीकार्यताले पहिचान र अधिकार प्राप्तिको लडाइलाई अझ सशक्त बनाउन प्रदेशको नाम मधेश र राजधानी जनकपुरधामले प्रेरणा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले प्रदेशका नाम र राजधानीप्रति प्रदेशवासीको स्वामित्व र अपनत्व हुने ऐतिहासिक र दुरगामी प्रभावका दृष्टिले आजका दिन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै संवैधानिक प्रावधान र जनादेशअनुरूप प्रदेशको नाम र राजधानी निर्धारण गर्ने कामका लागि प्रदेशसभा सदस्यहरूले निरन्तर प्रयत्न गरेको विज्ञप्तिमा जनाएका छन्।

उनले संवाद, समन्वय र सहमति र त्यसो नहुँदा असहमतिलाई सहमतिमा रूपान्तरण गर्ने सर्वोत्कृष्ट लोकतान्त्रिक विधि मतदानबाट प्रदेशको नामकरण र राजधानीका विषयमा निचोडमा पुग्ने बेलामा जनसङ्घर्षको लामो श्रृंखलाबाट स्थापित प्रादेशिक राजनीतिक सत्तालाई मजबुत र दिगो बनाउन हामीले विवाद, विमति र मनोमालिन्यबाट माथि उठेर जनआकांक्षालाई सम्बोधन गर्न समेत प्रदेशसभा सदस्यहरूको ध्यानाकृष्ट गराएका छन्।

उनले लेखेका छन्, ‘प्रदेशको नामकरण र राजधानी तय गर्ने कुरा सही अर्थमा एउटा कठिन र कष्टसाध्य काम हो। तर, पहिलो प्रदेशसभाका सदस्य भएका नाताले यी जिम्मेवारी पुरा गर्ने दायित्व निर्वाह गर्दा भविष्यमा प्रादेशिक सत्ता र समृद्धिका लागि सुन्दर बाटो प्रशस्त गर्नेछ।’

मन्त्री साहले सोमबारको मतदानबाट प्रदेशको नाम र राजधानी तय भए इतिहासका पानामा प्रदेशसभा सदस्यका काम सुनौला अक्षरले लेखिने भनेका छन्।

जसपा नेता साहले अधुरो, अपुरो, त्रुटिपूर्ण र विभेदकारी संविधानबाट प्राप्त सङ्घीय संरचनाअन्तर्गत प्रादेशिक सत्ता अभ्यास गरिरहँदा स्वायत्तता र स्वशासन नै निषेधित हुनेगरी अघि बढ्न बाध्य हुनुपरेको कठोर यथार्थबारे अवगत नै रहेको बताउँदै विज्ञप्तिमा संविधान निर्माणका स्रोत र आधारहरूलाई उपेक्षा गर्दै जनअभिमतविपरीत संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली, नागरिकताजस्ता कुराहरूलाई वस्तुपरक ढंगले सम्बोधन नगरिएको गुनासो समेत प्रकट गरेका छन्।

तर उनले लोकतान्त्रिक विधि एवम् प्रक्रियाबाटै संशोधन तथा परिमार्जन गराई संविधानलाई पूर्णता दिने कुरामा जनता समाजवादी पार्टी(जसपा) नेपाल प्रतिबद्ध रहँदै आएको थप्दै पार्टीको त्यस दृष्टिकोणप्रति देशका विभिन्न राजनीतिक शक्तिहरूले विभिन्न सम्झौता र समझदारी गर्दै आफ्ना सहमति व्यक्त गरिसकेकालाई सकारात्मक रूपमा अर्थ्याएका छन्।

प्रदेशका सातवटा संरचनाप्रति जसपा नेपालको विमति रहेको प्रष्ट्याउँदै नेता साहले ऐतिहासिक मधेश जनविद्रोहबाट प्राप्त संघीयतालाई संस्थागत र सुदृढ गर्ने कुरामा आफूहरूले निकै सजगता अपनाएकोमा जोड दिँदै प्रदेशको नामकरण र राजधानीका विषयमा आएका प्रस्ताव र ती प्रस्तावउपर भएका छलफल प्रदेशसभाको सर्वोच्चता र विशिष्ठताको एउटा अविस्मरणीय अध्याय बन्ने औंल्याएका छन्।

प्रकाशित मिति: : 2022-01-17 12:59:00

प्रतिकृया दिनुहोस्