अमेरिकालाई नेपालको असंलग्न परराष्ट्र नीति बुझाउनुपर्छ : प्रस्तावित राजदूत खत्री 

Photo-NK
Photo-NK

सरकारले विभिन्न देशका लागि प्रस्तावित गरेकाे राजदूतको संसदीय सुनुवाइ भइरहेको छ।

सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा सोमबार बसेको समितिको बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ भएको हो।

बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य र भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माको संसदीय सुनुवाइ सकिएपछि अहिले अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीको सुनुवाइ सुरु भएको छ।

समिति बैठकमा खत्रीले दिएको मन्तव्य :

अमेरिकाले नेपालको भुराजनीति बुझ्नुपर्छ। असंलग्न परराष्ट्र नीति अमेरिकालाई बुझाउनुपर्नेछ। एमसीसी इण्डोप्यासिफिक रणनीति मिसाएर हेरिएको छ। यो केही गलत धारणा छ। दुबै तर्फबाट गलत बुझाइ छ। नेपालको पनि गल्ती छ। संसदबाट एमसीसी पास गर्ने प्रावधान राखियो। यसले अब बीआरआईलगायत सबै परियोजना संसदबाट जानुपर्ने बुझाइ भयो।

अमेरिकाको पनि गल्ती छ। अमेरिकी रक्षा सहायक मन्त्री नेपाल आएर इण्डोप्यासिफिक रणनीति हो भनिदिनुभयो। यसले पनि भ्रम भयो। अस्ति अमेरिकी विदेश सहायक मन्त्रीले पनि रियालायज गर्नुभयो। एमसीसीमा अमेरिकामात्र होइन नेपालको पनि पैसा छ।

एमसीसीमा ढिलाइ भएको छ। राख्ने नराख्ने निर्णय गर्नुपर्छ। हालै जवाफमा एमसीसी संविधानमाथि होइन, इण्डोप्यासेफिक रणनीति पनि होइन, बौद्धिक सम्पत्तिमा पनि नेपालको हक लाग्छ, महालेखा परीक्षण नेपालले गर्न सक्छ भनेको छ।

मैले देखेको यो विषय केही हदसम्म यो दलबीचमा र देशभित्र कन्ट्रोभर्सीमा अलमलियो। मेरो भनाइ के हो भने लिने हो लिनुपर्छ र नलिने हो नलिने भन्नुपर्छ। निर्णय दिनुपर्छ।

तर, कारण नखुलाई रिजेक्ट गर्ने हो भने अरू देशबाट पनि वैदेशिक सहायता आउने कुरामा प्रश्न उठ्न सक्छ। विश्वासमा प्रश्न आउला कि भन्ने मेरो बुझाइ हो। तर, निर्णय गर्ने सरकारले हो, अनुमोदन संसदले गर्ने हो। त्यसकारण ठूलो रकमको परियोजना लिन नेपालीहरू बृहत् छलफल गरेर क्लियर हुनुपर्छ।

स्टेज भिजिट पनि शून्य छ। अमेरिकाको राष्ट्रपति आएको छैन, उपराष्ट्रपति पनि ५० वर्ष भइसकेको छ। नेपालबाट पनि भिजिट नभएको, द्विपक्षीय भ्रमण आदान प्रदान बढाउनुपर्छ। मेरो पहल रहन्छ। सन् १९८३ मा भएको रहेछ, वीरेन्द्रको लास्ट टाइम राजकीय भ्रमण भयो। सहाना प्रधान र केपी ओली कार्यक्रम भिजिटमा गएका रहेका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीजी जानुभएको रहेछ। भ्रमणलाई निरन्तरता दिन प्रयास हुनुपर्छ। अमेरिकाले लामो समयदेखि सहयोग गरेको छ। त्यसलाई अगाडि बढाउनुपर्छ।

अमेरिकी लगानी आएको छ। तर, जुन लगानी साउथ एसियामा अरू देशमा भएको त्यो स्तरको छैन, बढाउन पहल गर्छु। अमेरिकामा राम्रो गरेका नेपालीसँग समन्वय राजदुतावासले गरेर नेपालको हितमा प्रयोगका लागि प्रयास गर्छ।

प्रकाशित मिति: : 2021-12-06 16:33:00

प्रतिकृया दिनुहोस्