माओवादीकाे वडा सम्मेलन : प्यानलकै उम्मेदवारबीच भिडन्त

नेकपा माओवादी केन्द्र महोत्तरीको वडा तथा नगर सम्मेलनमा आकाङ्क्षीहरू धेरै भएपछि विवाद चर्किएकाे छ। उम्मेदवारहरूकाे आ-आफ्ना दाबी र अडानका कारण सम्मेलन नै अन्याेलमा परेकाे छ।

नेकपा माओवादी केन्द्र महोत्तरीका अनुसार एक सय ३७ वडामध्ये एक ३० वडामा सम्मेलन सकिएकाे छ भने बाँकी सात वडामा विवाद कायम नै छ। केही पालिकाहरूमा विवादकै कारण सम्मेलनको बन्दसत्र स्थगित भएका छन्।

जिल्लाका १५ पालिकामध्ये अहिलेसम्म नाै पालिकामा सफलतापुर्वक सम्मेलन समपन्न भएको माओवादी केन्द्रले दाबी गरे पनि आन्तरिक कलह उत्कर्षमा छ। बर्दिवास नगरपालिकामा १७ मंसिरमा हुने भनिएको अधिवेशन आकाङ्क्षीहरूको विवादका कारण स्थगित भएकाे छ।

महोत्तरीमा विवादकै कारण माओवादीका शीर्ष नेताहरू पालिकाका उद्घाटन र बन्दसत्रमा सहभागी बनेका छन्। पुर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अहिले महोत्तरीमै छन्।

रागोपालपुर नगरपालिका र भंगाहा नगरपालिकामा असहमतिका बीचमा पदाधिकारी मनोनित गरेको स्थानीय नेताको आरोप छ। सम्मेलनमा माओवादी केन्द्र महोत्तरीमा इन्चार्ज राजु खड्का र सांसद गिरिराजमणि पक्ष गरी दुई वटा प्यानल बनेकाे छ।

दुवै नेता आ-आफ्नै उम्मेदवार चयन गर्न लागिपरेका छन्। खड्का र पोखरेलबीच देखिएको अडानले सर्वसम्मत हुन भने निक्कै अप्ठ्यारो बनिरहेको एक नेताले बताए।

यता, कतिपय वडाका सम्मेलन अझै निश्चित हुन सकेकाे छैन्। पुसमा हुने भनिएको माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा वडा सम्मेलन अन्यौलमा पर्दा प्रतिनिधि छनोटमा समेत अफ्ठ्यारो स्थिति सिर्जना भइरहेकाे छ।

माओवादी केन्द्रको नगरपालिकाका लागि ६५ सदस्य र गाउँपालिकाका लागि ५५ सदस्य चयन गर्नुपर्ने प्रावधान छ। तर, सम्मेलन भैइसकेका कतिपय पालिकामा विवादकै कारण कतिपय पदहरू रिक्त छन्।

गौशाला नगरपालिकामा अझै दुई पद खाली राखेर सम्मेलन सम्पन्न गरेको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए।

बर्दिवास नगरपालिकाको स्थगित बन्दसत्र २२ मंसिरलाई निर्धारण गरिएको छ। सकेसम्म सर्वसम्मत गर्ने नत्र निर्वाचन प्रक्रियामा गएर भए पनि २२ मंसिरमा बर्दिवासको अधिवेशन समपन्न गर्ने माओवादी केन्द्रको तयारी छ।

प्रकाशित मिति: : 2021-12-06 15:08:00

प्रतिकृया दिनुहोस्