नेपाल हवाई खेलकुद संस्थाद्वारा वृद्धवृद्धालाई ज्याकेट वितरण

File photo
File photo

प्याराग्लाइडिङ तथा अल्ट्रालाइटहरूको व्यावसायिक संस्था नेपाल हवाई खेलकुद संस्था (ना)ले आफ्नो २०औँ स्थापना दिवसको अवसर पारेर आज ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ।

संस्थाका पदाधिकारी र सदस्यसहितको एक टोलीले पोखरा महानगरपालिका–१७ महतगौडास्थित पोखरा वृद्धाश्रम पुगेर न्यानो कपडा वितरण गरेको संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए।

'जाडो बढेको छ, विभिन्न परिस्थितिका कारण वृद्धाश्रम बस्नुभएका बुवाआमका लागि न्यानो मायाका रूपमा न्यानो कपडा वितरण गरेका हौँ', उनले भने।

उनले संस्थाले हरेक वर्ष सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्य गर्दै आइरहेको जनाउँदै यस वर्ष आश्रममा रहेका ५० वृद्धवृद्धालाई ज्याकेट वितरण गरेको बताए। 

वृद्धाश्रमका सहकोषाध्यक्ष श्रीनाथ आचार्यले जाडोमा ज्येष्ठ नागरिकलाई सम्झेर न्यानो ज्याकेट वितरण गरेकामा संस्थालाई धन्यवाद दिए।

संस्थाले स्थापना दिवसकै अवसरमा आज बिहान आयोजना गरेको रक्तदान कार्यक्रममा प्याराग्लाइडिङ कम्पनीका सदस्य र टेकअफ ल्याण्डिङमा कार्यरत श्रमिकको सहभागितामा ६५ युनिट रगत सङ्कलन भएको संस्थाका महासचिव बलराम आचार्यले जानकारी दिए। 

उनका अनुसार  टेकअफ तथा ल्याण्डिङको फोहर व्यवस्थापनका लागि चार थान आधुनिक गार्वेज र सो क्षेत्रमा कार्यरत ४० मजदुरलाई समेत ज्याकेट वितरण गरिएको थियो। सोको व्यवस्थापन  ‘ना’ पोखरा र कर्मा फ्लाइट नेपालको संयुक्त आयोजनामा गरिएको थियो। 
 

प्रकाशित मिति: : 2021-12-04 19:24:00

प्रतिकृया दिनुहोस्