प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : प्रचण्ड

Photo - Rss
Photo - Rss

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताएका छन्।

प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले लोकतन्त्रको सुदृढीकरणका निम्ति प्रेस स्वतन्त्रता आवश्यक रहेको बताएका हुन्।

उनले भने,'विगतको सरकारले जे–जस्ता ऐन बनाएर कहीँ न कहीँ प्रेस जगत्लाई अङ्कुश लगाउने जे–जस्ता ऐन बनेका छन् तिनलाई खारेज गरिने छ, यो हुन दिइने छैन।'

यस विषयमा पाँच दलीय गठबन्धनमा छलफल सुरु भइसकेको जनाउँदै उनले प्रधानमन्त्रीसँग पनि कुरा भइरहेको जानकारी दिए।

उनले भने, 'त्यसो हुन दिइने छैन, जति प्रेस बलियो हुन्छ, जति पत्रकार जिम्मेवार र सङ्गठित हुन्छन् त्यति लोकतन्त्र सुदृढ र समाजवादको आधार तयार हुन्छ।' स्वतन्त्र प्रेससँगै  समाजवादको दिशातर्फ अघि बढ्ने कामको सुनिश्चितता हुने उनको भनाइ थियो।

उनले अहिले पनि प्रतिक्रान्तिकारी र प्रतिगमनकारी सलबलाइराखेका बताए। उनले भने, 'कहीँ न कहीँ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि, प्रेसलाई कमजोर पार्न सकिन्छ कि, प्रेसमार्फत भ्रम छर्न सकिन्छ कि भनेर त्यो षड्यन्त्र अझै पनि जारी छ।'

राजनीतिकरूपमा चितवन परिचित बन्दै गएको जनाउँदै उनले भने,'प्रचण्डलाई मन पर्नेले पनि चितवन रोज्ने भए, नपर्नेले पनि चितवन रोज्ने भए, मन परेर आउनेलाई पनि धन्यवाद, मन नपरेर आउनेलाई पनि धन्यवाद।'

देशका सबै कम्युनिष्टबीचको एकता अझै पनि आवश्यक रहेको दाहालको भनाइ थियो। सच्चा र इमान्दार कम्युनिष्ट एकताबद्ध हुनुपर्ने उनले बताए।

प्रकाशित मिति: : 2021-12-04 17:18:00

प्रतिकृया दिनुहोस्