शैक्षिक प्रणालीमा सुधार गर्नुपर्छ : उपराष्ट्रपति पुन 

उपराष्ट्रपति नन्दबहादुर पुनले जनमुखी र वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औँल्याउदै शैक्षिक प्रणालीमा सुधार गर्नुपर्न बताएका छन्। 

चन्द्रागिरि नगरपालिका वडा नं. २ वाडभन्ज्याङमा रहेको श्री चण्डिका देवी माध्यामिक विद्यालयद्धारा आयोजित विद्यालयका भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा (११,१२) सञ्चालनका लागि सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् श्री चण्डिका देवी मावि धार्मिक तथा शैक्षिक महोत्सव २०७८ उद्घाटन कार्यक्रममा उनले बालबालिकाहरु शिक्षाको पहुँचबाट बाहिर रहेको बताए। 

उपराष्ट्रपति पुनले भने, ‘शिक्षामा आएका दरार समान हटाउदै, समान शिक्षाका लागि आन्दोलन जरुरी रहेको छ। शिक्षा क्षेत्रमा विभेद हुनु हुदैन पछिल्लो दिनमा सामुदायिक विद्यालयहरू को शैक्षिक गुणस्तर समेत बढेर गएको छ। विद्यालय व्यवस्थापन समिति र विद्यालय मिलेर अगाडी बढे शैक्षिक क्षेत्रको रुपमान्तरण संम्भव छ।’

सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति पुनले निजी विद्यालयलाई क्रमशः नियमन गर्नुपर्ने बताए।

हुने खानेको लागि निजी र हुँदा खानेको लागि मात्र सामुदायिक विद्यालय भएको चर्चा गर्दै उनले शिक्षामा ठूलो खाडल रहेको उल्लेख गरे। विद्यालयको विकास र विस्तारका लागि आफ्नो पारिश्रमिकवापतको १५ दिनको रकम विद्यालयलाई प्रदान गर्ने घोषणा समेत गरे।

महायज्ञ मुल आयोजक समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रवण सुवेदीले धार्मिक महायज्ञलाई सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका रुपमा आयोजना गरिन लागेको जानकारी दिए।

सबैको साथ र सहयोगले मात्र शैक्षिक क्षेत्रको विकास र रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने बताउदै पवित्र कार्यका लागि सहयोग र सद्धभावका लागि अनुरोधसमेत गरे।

कार्यक्रममा संविधान सभाका पूर्व सांसद रुपा महर्जनले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि धार्मिक महायज्ञ महत्वपुर्ण सावित हुने बताइन्। 

सामुदायी विद्यालयहरुलाई प्रविधि मैत्री र गुणस्तरिय शैक्षिक वातावरण तयार गर्दे दक्ष जनशक्ति उत्पादन आजको आवश्यकता रहेको औलाए।

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका केन्द्रय सभापति मन्त्री रामचन्द्र अधिकारले सामुदायिक विद्यालयको भौतिक सुधारसँगै प्राविधिक शिक्षाको सञ्चालनका लागि सुरुवात भएको महायज्ञलाई सफल बनाउन स्थानीय सरकारको मुख्य दायित्व भएको बताए। 

देशको आर्थिक समृद्धिसँगै दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक जनशक्ति आवश्यक रहेको भन्दै उनीहरुले चण्डिका देवी माध्यामिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि धार्मिक महायज्ञ महत्वपूर्ण सावित हुने उनको भनाइ छ। 

 

प्रकाशित मिति: : 2021-11-29 19:44:00

प्रतिकृया दिनुहोस्