कांग्रेस वडा अधिवेशन : सर्लाहीमा झडप हुँदा निर्वाचन अधिकृतसहित ६ घाइते

नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशनस्थलमा झडप भएको छ। बलरा नगरपालिका–८ गहडीयामा झडप हुँदा मतदान अधिकृतसहित ६ जना घाइते भएका छन्। 

कांग्रेसको एउटा समूहले आफूहरुसँग बहुमत रहेको भन्दै मतदान अधिकृत उमेशचन्द्र झालाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले अधिवेशन गराउन खोजेपछि झडप भएको हो। 

मतदान अधिकृत झालाई प्रहरीले मतदानस्थलबाट उद्धार गरी लैजान खोज्दा उनीमाथि ढुङ्गामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ। 

सो क्रममा प्रहरी निरीक्षक सुरेश ठाकुर, प्रहरी सहायक निरीक्षक अरुणकुमार यादव, प्रहरी हवल्दारद्वय अवधेशप्रसाद यादव र राजेश चौधरी तथा प्रहरी जवान रामानन्द यादव घाइते भएका छन्। प्रहरीले झडपलाई नियन्त्रणमा लिन तीन राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो।  

गम्भीर घाइते निर्वाचन अधिकृत झा र प्रहरी सहायक निरीक्षक यादवलाई उपचारका लागि वीरगञ्ज पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए। अन्य घाइतेको जिल्ला अस्पताल मलङ्गवा र सर्लाहीमा उपचार भइरहेको छ।  झडपपछि वडा अधिवेशन स्थगित गरिएको छ। 

यसअघि आइतबार पनि बलरा नगरपालिका–९ अचलगढमा कांग्रेसको दुई समूहबीच झडप भएको थियो। जिल्लाका ११ नगरपालिका र नौ गाउँपालिकाका दुई सय वडामध्ये आइतबार १६० भन्दा बढी वडामा सहमतिबाटै नेतृत्व चयन भएको थियो। 

बाँकी वडामा आज मतदान प्रक्रिया अघि बढाइएको जिल्ला निर्वाचन अधिकृत भरत राउतले बताए। जिल्लामा सदस्यता सम्बन्धी विवाद रहेको छ। 

प्रकाशित मिति: : 2021-11-29 19:08:00

प्रतिकृया दिनुहोस्