एमाले महाधिवेशन: राति नौ बजेदेखि एक बजेसम्म मतदान 

एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान हुने भएको छ। 

निर्वाचन आयोगको संशोधित कार्यतालिका अनुसार मतदानको कार्यक्रम पुनः पछि धकेलिएको हो। 

निर्वाचन प्रक्रियासँगै सर्वसहमतिको प्रयास भइरहेका बेला निर्वाचन समितिले निर्वाचन कार्यक्रम संशोधन गर्दै मतदानको समय निर्धारण गरेको हो।

संशोधित कार्यतालिका अनुसार सोमबार अपरान्ह तीन बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ।

अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्यका पदमा निर्विरोध हुन सकेको छैन। अधिकांश क्लस्टरबाट निर्वाचित हुनेहरू निर्विरोध निर्वाचित भइसकेका छन्।

आवश्यकताभन्दा बढी उम्मेदवारी दर्ता भएका पदमा सहमतिको प्रयास जारी राखिएका कारण निर्वाचन कार्यतालिकामा संशोधन गर्नु परेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति: : 2021-11-29 15:58:00

प्रतिकृया दिनुहोस्