शंकर पोखरेल : अभानेस्ववियूको अध्यक्षदेखि एमाले महासचिवसम्म

Breaknlinks
Breaknlinks

विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् शङ्कर पोखरेल। उनले एमालेभित्र वैचारिक नेताको छवि बनाएका छन्। उनी संगठक भने होइनन्। 

०४६ सालअघि भारतमा अध्ययनरत छँदा प्रवासी नेपाली विद्यार्थीहरुको नेताका रुपमा उनले काम गरेका थिए। उनले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन (अभानेस्ववियू) का संस्थापक अध्यक्षको भएर काम गरेका थिए। 

०४७ सालपछि अनेरास्ववियूको अध्यक्ष भएका उनी जननेता मदन भण्डारीले पत्याएका विद्यार्थी नेता हुन्। अखिलको अध्यक्ष हुँदै उनी त्रिभुवन विश्वविद्यालयको स्ववियू सभापति भएका थिए। विद्यार्थी नेता हुँदा पोखरेल मदन भण्डारीको शैली ‘कपी’ गरेर भाषण गरी चर्चामा आएका थिए। 

२०१९ फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा जन्मिएका थिए– बुबा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानका रुपमा। २०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी पोखरेल २०४६ मा पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए। उनी ०६२/६३ को जनआन्दोलनमा काठमाडाैँको आन्दोलनको नेतृत्व गर्नेमध्ये एक थिए।

माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा उनले शान्ति पदयात्राको नेतृत्व गरेका थिए। माओवादीहरुलाई शान्ति प्रक्रियामा ल्याउनका लागि गरिएका विभिन्न छलफलमा उनी सहभागी हुन्थे।

‘माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधान’ का सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको उनी सचिव भए। जनकपुरमा भएको एमालेको सातौं महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लगेका थिए। 

राज्यको पुनःसंरचना आवश्यक रहेको निष्कर्षका साथ उनले पार्टीमा राज्य पुनःसंरचनासम्बन्धी लिखित दस्तावेज प्रस्तुत गरेका थिए। राज्यको पुनःसंरचना सम्बन्धी पार्टीद्वारा गठन गरिएको कार्यदलको उनी सचिव थिए।

२०५१ सालमा दाङको क्षेत्रनम्वर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। राष्ट्रिय राजनीतिका प्रमुख मुद्दाहरुमा पार्टी दृष्टिकोण निर्माण गर्ने कुरामा समेत उनले भूमिका खेल्ने गरेका थिए।

उनले त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए. तहको अध्ययन पूरा गरेका छन्। पोखरेल भू–राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुन्। पोखरेलले २०६६ सालमा सूचना तथा सञ्चार मन्त्रीको भएका थिए। 

पोखरेल २०७४ सालको निर्वाचनमा दाङ क्षेत्रनम्वर २ (क) बाट प्रदेश सभामा निर्वाचित भई लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका थिए– यसअघि करिब तीन वर्ष। नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएका थिए– पोखरेल।

लामो समय पार्टी स्कुल विभागको उपप्रमुखको जिम्मेवारीमा रहेर काम गरेका थिए– पोखरेलले। नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका थिए। वैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एक रुपता कायम गर्न सक्ने नेताहरु मध्ये एक हुन्।

पोखरेलका राजनीतिक, वैचारिक र समाजका विविध क्षेत्रका विषय समेटिएका थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन्। उनी साहित्य सृजनातर्फ सक्रिय छन्।

पोखरेलले युगलहर, सिमानापारिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्पलगायत पत्रिका र साहित्यिक रचना संग्रहहरुको सम्पादन पनि गरेका छन्। 

केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उनले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी निभाएका थिए। एमालेको भविष्यका रुपमा हेरिएका पोखरेल दशौं महाधिवेशनबाट महासचिव पदमा सर्वसम्मत निर्वाचित भएका छन्।

प्रकाशित मिति: : 2021-11-29 15:35:00

प्रतिकृया दिनुहोस्