उदयपुरका ग्रामीण सडक क्षतविक्षत, आधा दर्जनभन्दा बढी सवारीसाधन बीच बाटोमै अलपत्र

Photo : NK
Photo : NK

स्थानीय तहले दसैंअघि मर्मत गरि सन्चालनमा ल्याएका उदयपुरका ग्रामीण सडक केही दिनअघि आएको वर्षाले क्षति बिक्षत बनाएको छ। पालिकाहरूबीच सहज रुपमा यातायातका साधान चलाउन मिल्ने गरी सडक मर्मत गरिएको भए पनि बेमौसमी वर्षाले सडक भत्काउँदा सडक पुनः ठप्प भएका छन्।

दसैंअघि पालिकाहरूले विभिन्न शीर्षकको बजेट कटाएर सडक मर्मत गरेका थिए। अचानकको वर्षापछिको बाढीपहिरोले गन्तव्यमा पुगेका र फर्किँदै गरेका आधा दर्जनभन्दा बढी यात्रुवाहक बस बाटोमै अलपत्र परेका छन्। सडक नियमित भएपछि यात्रु लिएर गएका ती बसहरू फर्किन नपाउँदा यातायात व्यवसायीहरू चिन्तित बनेका छन्।

व्यवसायी मात्रै होइनन् दसैं मानेर सहर फर्किनेहरूले पनि यात्रामा सास्ती व्यहोरिरहेका छन्। पहाडी भेगका सडक ध्वस्त भएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधन नचल्दा सवारीसाधन पाइरहेका छैनन्। यस्तै, सदरमुकाम र गाउँबीचको नियमित यातायात सेवा पनि अवरुद्ध भएको छ।

कतिपय स्थानमा व्यवसायी आफैले सडक मर्मत गर्न थालेका छन्। गाईघाट–मुर्कुची–पुँवारे–भुटार–लाफागाउँ खण्डमा रोकिएका दुई वटा यात्रुबाहक बस निकाल्न सोमबार व्यवसायीहरूले सदरमुकामदेखि स्काभेटर पठाएको हिमाली केन्द्रका महासचिव उमेश बस्नेतले बताए। बाटोमा अड्किएका २–३ वटा बस तथा ट्याक्टर भने एक दिनअघि निकालिएको छ। यातायात व्यवसायीहरू आफ्नै खर्चमा स्काभेटर लगेर सडक मर्मत गरी थुनिएका बस र ट्याक्टर निकाल्न थालेको बस्नेतले बताए। लाफागाउँ–जाँते खण्डमा पनि दुई वटा बस अलपत्र परेको छ। सडक बिग्रेका कारण बीच बाटोमै रोकिएका हुन्। बस रोकिएको ठाउँ भुटारदेखि २०–२५ किलोमिटर उत्तरमा पर्छ, तर स्काभेटर त्यहाँसम्म पुग्न आधा दर्जन भन्दा बढी ठाउँमा मर्मत गर्नु पर्ने केन्द्रले जनाएको छ। 

सडक मर्मतमा स्थानीय तहको बेवास्ता

सडक मर्मतमा स्थानीय तहहरूले बेवास्ता गरेको व्यवसायी तथा यात्रुहरूको गुनासो छ। गाउँगाउँमा सरकार भए पनि दायित्व पूरा गर्नेतर्फ जनप्रतिनिधिले चासो नदिँदा सडकको दुरावस्था कायमै रहेको व्यवसायीहरू बताउँछन्। सडक भत्केर बस थुनिएको एक साता बितिसक्दा पनि जनप्रतिनिधिले चासो नदिएपछि व्यवसायीले नै स्काभेटर पठाउनु परेको हिमाली यातायात केन्द्रले जनाएको छ।

व्यवसायीका अनुसार वर्षाले सदरमुकामँग जोडिएका थुप्रै पहाडी भेगका सडकहरू कामै नलाग्ने गरी भत्किएका छन्। पहाडी भेगका सडकहरू बिना इन्जियिरिङ बनेका र कच्ची भएकाले सामान्य वर्षाले नै भत्काएर यातायात अवरुद्ध हुन पुग्छ। धेरैजसो सडकहरू माटो काटेर मात्र बनेका कारण सामान्य वर्षामै बगेर भत्कने गरेको छ भने कतिपय सडकहरूमा नाला नहुँदा पानीले गहिरो बनाउँदा गाडी चल्न नसक्ने अवस्थामा पुगेका छन्। छिमेकी जिल्ला खोटाङलाई सोझो यातायातले जोड्ने गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग ठाउँठाउँमा भत्कन पुगेर यातायात अवरूद्ध हुन पुगेको छ भने त्यससँग जोडिएका शाखा उपशाखा सडकहरू सबै ध्वस्त हुन पुगेपछि यातायात अवरुद्ध हुन पुगेको हो।

गाईघाट–दिक्तेल सडकसँग जोडिएर उदयपुरका साविक खाँबु, रौता, आँपटार, रसुवा, बलम्ता, जाँते, ताम्लिछा जोडिएका कच्ची सडकहरू सबै भत्केर आवागमनमा कठिनाइ आएको छ। यस्तै लिमचुङबुङ गाउँपालिका र रौतामाइका आन्तरिक सडकहरू भत्केर ध्वस्त भएका छन्। ताप्ली र उदयपुरगढी गाउँपालिकाका आन्तरिक सडकहरू पनि अस्तव्यस्त भएका छन्। वर्षाले आन्तरिक सडक भत्काएका कारण ताप्ली गाउँपालिका केन्द्र रूपाटारसम्म पुग्न समेत हम्मेहम्मे भएको अध्यक्ष उद्धवसिंह थापाले बताए।

प्रकाशित मिति: : 2021-10-28 13:55:00

प्रतिकृया दिनुहोस्