पताल गंगाका अध्यक्ष खनालले १ करोड ५४ लाख ८२ हजार हिनामिना गरेको भन्दै उजुरी

पताल गंगा बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडका अध्यक्ष रेवती खनालविरुद्ध उजुरी दर्ता गरिएको छ। सञ्चालक समितिले खनालविरुद्ध जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दर्ता गरेको हो।

करोडभन्दा बढी रकम हिनामिना गरेर सम्पर्क बाहिर गएको महिना दिन बितिसक्दा पनि सम्पर्कमा नआएपछि उजुरी गरिएको संस्थाका सचिव मोहन विक्रम मल्लले जानकारी दिए। 'प्रहरीमा उजुरी गरेका छौं, अदालतबाट पक्राउ पुर्जी पाएपछि खोजी हुनेछ', मल्लले भने।

भद्रपुर –८ स्थायी घर भई बिर्तामोड बस्दै आएका खनाल भदौ तेस्रो सातादेखि सम्पर्कविहीन छन्। उनको खोजीका लागि परिवारले कतै पनि निवेदन नदिएको बुझिएको छ।

सहकारी संस्थाले अध्यक्षले रकम हिनामिना गरेर हिंडेको कुरा लामो समय गुपचुप बनाएको थियो। संस्थाको बद्नाम हुने डरले अध्यक्ष सम्पर्कविहीन भएको कुरा बाहिर ल्याइएको थिएन। सञ्चालक समितिले अध्यक्ष खनाल सम्पर्क बाहिर भएपछि संस्थाको लेखा परीक्षण गरेको छ।

लेखा परीक्षणका क्रममा खनालले १ करोड ५४ लाख ८२ हजार १८ रुपैयाँ ३५ पैसा हिनामिना गरेको पाइएको मल्लले जानकारी दिए।

उनका अनुसार कोरोना महामारीको समयमा खनालले फाइदा उठाएको आरोप छ। संस्थाको बैठक नबस्दा मनोमानी गरेको पाइयो। मल्लले भने, 'बैठक बसौं भन्दा कोरोना छ भन्दै टार्नु हुन्थ्यो। कुरो अर्कै भइसकेको रहेछ।'

बचत तथा ऋण सहकारी संघ लि.का लेखा समिति संयोजक समेत रहेका खनालले संस्थाले लिएको कर्जा चलाएको मल्लको भनाई छ।

मल्लका अनुसार झापा जिल्ला सहकारी संघबाट संस्थाले लिएको कर्जा उनले आफैँ लगेको देखियो। सदस्यहरुको पैसा चलाइएको पाइएन। संस्थाले कर्जा लगानी बढाएर आम्दानी समेत वृद्धि गर्ने सोचले संघबाट ऋण लिएको उनको भनाई छ।

दशैंअघि नै सञ्चालकहरुले ५-५ लाख शेयर थप गरेर सदस्यहरुको बचत फिर्ता गर्दै आएको छ। अहिले पनि संस्थाले संस्थाको नियम बमोजिम फिर्ता गर्नुपर्ने रकम फिर्ता गरिरहेको बताइएको छ।

प्रकाशित मिति: : 2021-10-27 12:06:00

प्रतिकृया दिनुहोस्