निर्वाचन आयोगले गर्‍यो चैत्र ५ भित्र स्थानीय निर्वाचन गर्न सिफारिश, कानूनविद् ज्ञवालीले भने– 'यो संविधानको घाेर उल्लङ्घन हो'

File Photo
File Photo

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले निर्वाचन आयोगले आगामी चैत्र ५ गतेभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गर्नु संविधानकाे घाेर उल्लंघन भएकाे बताएका छन्।

नेपालको संविधानको धारा २२५ र २१५ मा स्थानीय तहको कार्यकाल पाँच वर्ष हुने र त्याे कार्यकाल सकिनु छ महिनाभित्र अर्काे निर्वाचन गर्नुपर्ने व्यावस्था रहेकाेले आगामी चैत्र ५ गतेभित्र निर्वाचन गर्नु संविधानकाे उल्लंघन भएकाे बताएका हुन्।

‘२०७८ साल चैत्र ५ गते स्थानीय तहको निर्वाचन गरिने हो भने पहिलो चरणको निर्वाचनको कार्यकाल समाप्त हुनु ८ महिनाअघि, दोस्रो चरणको निर्वाचनको कार्यकाल समाप्त हुनु १० महिनाअघि र तेस्रो चरणको निर्वाचन भएको कार्यकाल समाप्त हुनु १ वर्ष अगाडि हुन पुग्छ’, ज्ञवालीले भने,'यस्ताे अवस्थामा चैत्र ५ गतेभित्र निर्वाचन आयाेगले सरकारलाई निर्वाचन गर्न सिफारिस गर्नु संविधानकाे उल्लंघन हाे।'

स्थानीय तहको पहिलो चरणको निर्वाचन २०७४ साल वैशाख ३१ गते भएबाट यसको कार्यकाल समाप्त हुने समय २०७९ साल वैशाख ३० गते हुन आउँछ। त्यस्तै दोस्रो चरणको निर्वाचन २०७४ असार १४ गते र तेस्रो चरणको निर्वाचन २०७४ असोज २ गते सम्पन्न भएको थियो। त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्थात २०७९ साल असोज ३० भित्र पहिलो चरणको निर्वाचन, मंसिर २ सम्म दोस्रो र तेस्रो चरणको २०७९/१२/२ सम्म मात्र निर्वाचन गर्न सकिने वरिष्ठ अधिवक्ता ज्ञवालीले बताएका छन्। 

प्रकाशित मिति: : 2021-10-26 21:10:00

प्रतिकृया दिनुहोस्