विवेकशील साझा पार्टीद्वारा रमेश महर्जनको निधनमा शोक प्रस्ताव पारित

File Photo
File Photo

विवेकशील साझा पार्टीले आफ्ना केन्द्रीय सदस्य रमेश महर्जनको निधनले सिङ्गो पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको जनाएको छ।

पार्टीको आज बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले महर्जनको निधनप्रति गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको सो पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एक साताअघि कोभिड–१९ सङ्क्रमण भएपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार अवस्थामा महर्जनको सोमबार निधन भएको थियो।

विसं २०७४ मा तत्कालीन साझा पार्टी स्थापना हुँदा संस्थापक केन्द्रीय सदस्य रहेका महर्जन हाल उक्त पार्टीको केन्द्रीय सदस्य एवम् व्यवसाय विभाग प्रमुखका रुपमा सक्रिय थिए। गत स्थानीय तहको निर्वाचनमा उनले पार्टीका तर्फबाट ललितपुर महानगरपालिकाको नगरप्रमुख पदका लागि प्रतिस्पर्धा गरेका थिए।

विसं २०७२ को भूकम्पपछि उनले पाटनमा नेवाः वास्तुकलामा आधारित ‘पिलाछे’ पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत लगभग १०० वटा घरको पुनर्निर्माणको परिकल्पना तथा नेतृत्व गरेका थिए। साथै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष तथा नेपाल श्रीलङ्का चेम्बर अफ कमर्सको अध्यक्ष पनि भएका थिए।

प्रकाशित मिति: : 2021-10-19 13:53:00

प्रतिकृया दिनुहोस्