सेवा चुस्त बनाउन श्रममन्त्रीको निर्देशन

File Photo
File Photo

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिएक छन्। बबरमहलस्थित सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार बोर्डको आज निरीक्षणपछि मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका हुन्।

सरकारी सेवा जनताले छिटोभन्दा छिटो पाउनुपर्ने भन्दै मन्त्री श्रेष्ठले ढिलासुस्ती नगर्न निर्देशन दिए। 'हामी जनताका सेवक हौँ, काममा ढिलाइ नहोस्,' उनले भने, 'केही समस्या परे सहजीकरण गर्न म तयार छु।'

सोही क्रममा मन्त्री श्रेष्ठले दुवै कार्यालयबाट प्रवाह भइरहेका सेवाका बारेमा जानकारी लिएक थिए। मन्त्री श्रेष्ठले आइतबार मन्त्रालयमा कार्यरत श्रमिकहरूका गुनासो सुन्दै काम सुरुआत गरे।

यसैगरी मन्त्री श्रेष्ठले विदेशमा रहेका नेपालीको उद्धारमा सहयोग गर्न आग्रह गरे। यूएई र साउदी अरबका राजदूतसँग भेटघाट गर्दै मन्त्री श्रेष्ठले यूएई र साउदी अरबमा अलपत्र परेका, मृत्यु भएका र जेलमा रहेका नेपाली श्रमिकको उद्धारमा आवश्यक सहयोग गर्न आग्रह गरे।

विभिन्न कारणले विदेशमा अलपत्र परेका र जेलमा रहेका नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई छिटोभन्दा छिटो नेपाल फर्काउन श्रममन्त्री श्रेष्ठले सम्बन्धित राजदूतलाई आग्रह गरेको सचिवालयले जनाएको छ।

मन्त्री श्रेष्ठसँग यूएईका राजदूत साइद हमदार मोहम्मद अल नक्की र साउदी अरबका राजदूत मुसेद वनि सुलेमानले महाराजगञ्जस्थित मन्त्री श्रेष्ठको निवासमा भेटघाट गरेका थिए। सो अवसरमा राजदूतहरुले श्रममन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गर्दै दुई देशबीचको हितका लागि आपसी समझदारीमा काम गर्ने बताए। 

प्रकाशित मिति: : 2021-10-18 19:21:00

प्रतिकृया दिनुहोस्