इन्स्पेक्टर सापको घुस खाने बानी !

यतिबेला प्रहरीभित्र एउटा काण्डले खूब चर्चा पाएको छ। त्यो हो, काठमाडौँस्थित कलंकीको 'खसी र घुस काण्ड।' 

चर्चाको शीर्षस्थानमा छन्– महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) शङ्कर खड्का। 

यसो त उनी बेला–बेला सामाजिक सञ्जालमा कतै धन्यवाद त, कतै बधाई थापिरहेका हुन्छन्। यो इन्स्पेक्टर खड्काको गजबको शैली हो। कारण– उनी जहाँ पुग्छन् कडा रूपमा प्रस्तुत हुन्छन् र नागरिकमाथि अनेक दुःख थुपार्छन्।

कलंकी क्षेत्रको ट्राफिक कमाण्ड सम्हालेका उनले बर्दीको दुरूपयोग गर्दै यातायात व्यवसायीदेखि मासु पसलका सञ्चालकलाई धम्काउदै रकम उठाउने गरेको गुनासो यस अघि नै महानगरीय ट्राफिक प्रहरी महाशाखामा पुगेपनि वास्तै हुँदैन्थ्याे।

दशैंको अघिल्लो सातादेखि यसक्षेत्रका खसी व्यापारीहरूको पछि–पछि लागेर इन्स्पेक्टर खड्काले हैरान पारेको पीडितहरू बताउँछन्। सुरक्षामा खटिएका प्रहरीहरू नै घुसदेखि ‘दशैं खसी’ माग्दै हिंडेको खबर प्रहरी प्रधान कार्यालयमा पुगेपछि उनीहरू विभागीय कारबाहीमा परेका छन्। 

घुस पुष्टि भएपछि ट्राफिक प्रहरीले उनीमाथि विभागीय कारबाही अघि बढाएको प्रहरी स्रोतले जनाएको छ। 

खड्का पदीय मर्यादा भूलेर पैसा उठाउने गरेको प्रमाण सहित गुनासो प्रहरी प्रधान कार्यालयसम्मै पुगेको स्रोतले जानकारी दियो। त्यसपछि उनलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान अघि बढाइएको छ।  

उनले बालुवादेखि पेट्रोल डिपोसम्म घुस माग्ने गरेको गुनासो महाशाखामा आउने गरेको महाशाखाका एक अधिकारीले बताए। 

‘इन्स्पेक्टर साप सवारी चेकिङ्गमा कडा मानिन्छन्, तर त्योभन्दा कडा घुस खाने मामिलामा रहेछन्,’ कलंकीका एक व्यापारीले भने। ती व्यापारी कलंकीमा मासु पसल चलाउँछन्। उनले दशैंका लागि उपत्यका बाहिरबाट सयौँ खसी भित्र्याउँदा एउटा खसी र अर्काे एउटा खसीको मूल्य बराबर पैसा उनै इन्स्पेक्टर खड्कालाई बुझाउन बाध्य भएको दुःखेसो पोखे। 

इन्स्पेक्टर साप जहाँ पुग्छन्, नागरिकसामु कडा रूपमा प्रस्तुत हुन्छन् तर इन्स्पेक्टर खड्काको रोचक पक्ष पनि कम्ति रमाइलो छैन। 
स्थानीय नेता र खासखास सञ्चारकर्मी साथमा लिएर सामाजिक सञ्जालमार्फत् आफ्नै प्रचारमा खटाउँछन्। यतिसम्म कि कलंकीक्षेत्रका कतिपय बस्तीहरूमा आफै योजना बनाउथे, आफै सम्मान थाप्थे तर यो सबै तामझमका लागि स्थानीय प्रयोग गर्थे।

‘कलंकीमा बेलुकीपख इन्स्पेक्टर साप पैसा ताकेर पर्खेका हुन्थे। काठमाडौँबाट घर्तीगाउँ जाँदा होलेरीमा पटकपटक घुस दिएको मलाई याद थियो। कलंकीमा पनि देखेपछि दिनैपर्थ्यो। इन्स्पेक्टर सापको घुस खाने बानी जहाँ गए पनि उस्तै,’ रोल्पा–काठमाडौँ चल्ने रात्रिबसका एक चालक भन्छन्। 

प्रचारमा रमाउन माहिर इन्स्पेक्टर खड्का यसअघि रोल्पास्थित जिल्ला प्रहरी कार्यालय र घर्तीगाउँ–होलेरी प्रहरी चौकीमा बसेका थिए। त्यतिबेला उनले चर्चा कमाउनैका लागि 'विप्लव' नेतृत्वको नेकपा समर्थकमाथि अनेक दुःख दिए। 'विप्लव'निकट भएकाे आरोप लगाउँदै शिक्षकसम्म छाडेनन्। 

यतिमात्रै होइन, होलेरी पुगेपछि चेकिङ्गको नाममा यसक्षेत्रका यात्रुमाथि दुःखैदुःख थुपारे। इन्स्पेक्टर खड्काले एकताका होलेरीका स्थानीय युवालाई ट्राफिक कारबाहीको नाममा भाले मागेर हैरान पारेको बेला–बेला गुनासो आइरहन्थ्यो। तर उनीविरूद्ध यस्ता गुनासा कैयौँ आएपनि उनका प्रचारहरूले क्षणभरमै ओझेलमा पार्थे। र, कसैले पत्याउदैन्थे।

‘उहाँको काम होटेलमा बसेर चिया र समोसा खाने हुन्थ्यो तर गाडी–बाइक चेक गर्ने नाममा उनका केटाहरू लाइसेन्सभित्र ५ सय, हजार माग्थे,’ रोल्पा होलेरीका एक युवा व्यवसायी भन्छन्। उनी रोल्पाबाट कलंकी ट्राफिक इन्चार्ज भएर आएको धेरै समय भएको थिएन तर घुस लिएको पुष्टि भएपछि कारबाहीमा परेका हुन्।

प्रकाशित मिति: : 2021-10-18 17:04:00

प्रतिकृया दिनुहोस्