ओली भन्छन्- एमालेमाथि चौतर्फी आक्रमण भयो 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भएको बताएका छन्।

तीन दिनदेखि जारी पार्टी प्रथम विधान महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै आइतबार अध्यक्ष ओलीले एमालेमाथि चौतर्फी आक्रमण भएका बताएका हुन्।

एमालेको विचार र संगठनमाथि आक्रमण भएको भन्दै उनले एमाले कमिटी र सामूहिक नेतृत्व र छलफलमा विश्वास गर्ने बताए।

विधान महाधिवेशनका बेला गरिएको प्रचार प्रसार र अध्यक्ष ओलीलाई देवत्वकरण गरिएको भन्दै टिप्पणी भएकोप्रति पनि जवाफ दिँदै अध्यक्ष ओलीले भने, ‘एमालेमाथि चौतर्फी हमला भएका छन्।

विचार र संगठनमाथि हमला भएको छ। एमालेको महाधिवशेनमा ब्यानर र झण्डा नदेखिए के देखिन्छ त। हामी व्यक्ति पूजक होइनौँ, हामी अन्धधर्ममा विश्वास गर्दैनौँ। कमिटी र सामूहिक नेतृत्व र छलफलमा विश्वास गर्छौँ।’

आफ्नो नेतृत्वमा सरकार बनेपछि खुइल्याउने काम भएको भन्दै उनले थप भने, ‘मेरो नेतृत्वको पहिलो सरकार बनेपछि पनि उधुम खोइरो खन्ने काम भयो। खुइल्याउने काम भयो। यस पटक संविधान जारी भएपछि बनेको पहिलो सरकारविरुद्ध पनि यो देखियो।’

प्रकाशित मिति: : 2021-10-03 16:25:00

प्रतिकृया दिनुहोस्