किसान श्रेष्ठ भन्छन्- एमालेका लागि गण्डकीमा म एक्लै काफी छु

फाइल तस्वीर
फाइल तस्वीर

एमाले विभाजनपछि गण्डकीमा हालका हेभिवेट नेता हुन् कृष्णकुमार श्रेष्ठ (किसान)। उनी यसै हेभिवेट भएका होइनन्, तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेपछि श्रेष्ठ चर्चामा आएका हुन्। त्यो पराजयले अर्को ठूलो सन्देश दियो, उनी कांग्रेसका लागि निकै भारी भए।

किसान अहिले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका छन्। प्रदेश कमिटी कार्यालय स्थापनापछि पोखरामा भएको भेलालाई सम्बोधन गर्दै उनले आफू एक्लै भए पनि गण्डकीमा एमालेको लागि भारी पर्ने दाबी गरे।

‘१८ निर्वाचन क्षेत्रमा एउटा पनि माधव नेपाल समूहका मान्छेलाई टिकट दिइएन। कसरी बलियो हुन्छ ? स्थानीय र प्रदेश चुनावमा कसैले टिकट पाएनन्, अनि कसरी हुन्छ बलियो ?,’ उनले भने, ‘अब हामी देखाइदिन्छौं, एकीकृत समाजवादी गण्डकीमा के छ भनेर। यो पार्टीमा गण्डकीबाट म मात्रै निर्वाचित सांसद छु। उनीहरू १४ जना छन्, उनीहरूका लागि म एक्लै भारी पर्ने छ।’

सबैको समस्या आफूहरूले समाधान गर्ने उनको दाबी छ। उनले समाजवादी पार्टी गण्डकीमा बलियो रहेको बताए। ‘केही दिन अगाडि एमाले अध्यक्ष पोखरामा आएर तामझामका साथ कार्यक्रम गरेर जानुभयो। त्यो कार्यक्रममा गण्डकीका सबै जिल्लाबाट कति उपस्थित थिए ?,’ उनी भन्छन्, ‘आज कास्कीको मात्रै नेता कार्यकर्ता भेला हुँदा हेर्नुस् त कति छन्। आजदेखि समाजवादीले बिगुल फुक्यो।’

आफू बीसौं वर्ष ओली गुटमा रहेकोमा अहिले आएर पश्चाताप लागेको उनले सुनाए। ‘बीसौं वर्ष उता लागें। दुईपटकसम्म संसद् विघटन गर्दा पनि साथ दिइरहें,’ श्रेष्ठ भन्छन्, ‘असारमा आएपछि मैले गल्ती गरेको रहेछु भन्ने महसुस भयो। त्यसैले शेरबहादुर देउवालाई विश्वासको मत दिएँ। संविधानको पक्षमा उभिएँ।’न्युज कारखाना

प्रकाशित मिति: : 2021-09-19 17:01:00

प्रतिकृया दिनुहोस्