रेडपाण्डा संरक्षणको क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले ताप्लेजुङका ५०० भन्दा बढी कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको छ।
घरपालुवा र सामुदायिक गरी ५८६ वटा कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको हिमाली संरक्षण मञ्चले जनाएको छ।
यही भदौ १४ देखि २४ गतेसम्म आफ्नो कार्य क्षेत्रका ४१४ वटा कुकुर र ३१ वटा बिरालोलाई रेबिजविरुद्धको खोप लगाइएको मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए। उनका अनुसार अघिल्लो वर्ष १७२ वटा कुकुरलाई खोप लगाइएको थियो।
रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग र स्थानीय तहका पशु शाखाको प्राविधिक सहयोगमा खोप कार्यक्रम आयोजना गरिएको राईले बताए।
मान्छे, घरपालुवा जनावर र संरक्षित वन्यजन्तु रेडपाण्डा कुकुरको आक्रमणमा पर्ने गरेकाले रेबिजबाट बचाउन खोप कार्यक्रम सञ्चालन गरिएको हो। खोपसँगै जुकाको औषधि र भिटामिनसमेत वितरण गरिएको छ। अघिल्लो वर्ष पाथीभरा क्षेत्रमा खोप कार्यक्रम सञ्चालन गरिएको थियो।
यो वर्ष सिरिजङ्घा गाउँपालिकाको खेवाङ, याम्फुदिन, पाथीभरा याङ्वरकको तिरिङ्गे, थेचम्बु, फुङ्लिङ नगरपालिकाको फावाखोला फुरुम्बुसहित पाथीभरा क्षेत्रमा रहेका घरपालुवा र सामुदायिक कुकुरलाई खोप लगाइएको मञ्चले जनाएको छ।
पछिल्लो समय रेडपाण्डा संरक्षण क्षेत्रका कुकुरमा रोग देखिन थालेकाले खोप कार्यक्रमलाई निरन्तरता दिँदै लगिने राईको भनाइ छ।
यस्तै रेडपाण्डा संरक्षणकै लागि अघिल्लो वर्ष ८२ वटा कुकुरलाई बन्ध्याकरणसमेत गरिएको छ। धेरैजसो पाथीभरा क्षेत्रका सामुदायिक कुकुरलाई बन्ध्याकरण गरिएको छ।
बन्ध्याकरण गरेपछि आक्रामक नहुने र सङ्ख्यासमेत वृद्धि नहुने भएकाले बन्ध्याकरण गर्नुपरेको बताइएको छ। जिल्लामा हालसम्म पाथीभरा क्षेत्र र देउरालीमा गरी दुई वटा रेडपाण्डा कुकुरको आक्रमणमा परी मरेका थिए।
कुकुरको आक्रमणमा परी घाइते अवस्थामा भेटिएका ती रेडपाण्डा उपचारका क्रममा मरेको जनाइएको छ। विशेषगरी जिल्लाको पाथीभरा क्षेत्रमा रेडपाण्डाको सङ्ख्या बढिरहेको अनुमान छ। सो क्षेत्रमा भने बर्सेनि सामुदायिक कुकुरको सङ्ख्या वृद्धि भइरहेकाले संरक्षणमा चुनौती बढेको छ।
नेपालका सम्भावित रेडपाण्डाको बासस्थान र सङ्ख्याका आधारमा ताप्लेजुङलाई रेडपाण्डाको प्रमुख क्षेत्रका रूपमा लिन सकिन्छ। अघिल्लो वर्ष तयार भएको समुदायमा आधारित हाब्रे सर्वेक्षण तथा अनुगमनको कार्यविधिमा उल्लेख भएअनुसार यहाँ हाब्रे अर्थात् रेडपाण्डाको सङ्ख्या ४५ रहेको छ।
साधारणतया रेडपाण्डाले आफ्नो बासस्थान धोद्रो रुखमा वा चट्टानको खोँचमा बनाउने गर्छ। कुकुरको आक्रमणसहित वन डढेलो, चोरी सिकार, हाब्रेको मुख्य आहारा मालिङ्गो/निगालो प्रजातिको दोहन, बासस्थान क्षेत्रमा घाँस, दाउरा सङ्कलन, सडक संरचनासहित ठूलाठूला भौतिक पूर्वाधारको निर्माण हुने जस्ता कार्यले रेडपाण्डाको संरक्षणमा चुनौती थपिँदै गएको संरक्षणकर्मी बताउँछन्।