सुनचाँदी व्यवसायीको आग्रह– सरकारले जारी गरेको निर्देशिका व्यावहारिक बनाइयोस्

नेपाल सुनचाँदी व्यवसायी महासंघले ‘बहुमुल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरुका लागि जारी निर्देशिका २०७७’ व्यावहारिक वनाउन सरकारसँग आग्रह गरेको छ।

निर्देशिकाका कतिपय बुँदाहरु ब्यवहारिक नभएको भन्दै त्यसलाई ब्यवहारिक वनाउन महासंघले आन्तरिक राजस्व विभागसँग आग्रह गरेको हो।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले निर्देशिकामा उल्लेख गरिएका मापदण्ड पूरा गर्न साना व्यवसायीहरुलाई अप्ठ्यारो परेको उल्लेख गर्दै त्यसलाई शंशोधन गर्न आग्रह गरे।

अहिलेकै निर्देशिका कार्यान्वयन हुँदा ब्यवसायीलाई असहज हुने र साना व्यवसायी पलायन हुनु पर्ने अवस्था समेत आउन सक्ने उनको भनाई छ।

विभागका निर्देशक बोलराज आचार्यले उक्त निर्देशिका व्यवसायीलाई दुःख दिने नियतले नभई सम्पत्ति शुद्धीकरण गर्न खोज्नेहरुका लागि लक्ष्यित गरी जारी भएकोले व्यवसायीलाई अप्ठ्यारो नहुने बताए।

विभागका अन्य विभिन्न अधिकारीहरुको सहभागिता रहेको सो भेटमा महासंघका तर्फवाट अध्यक्ष शाक्य सहित उपाध्यक्षद्धय मोहन काजी शाक्य र पवन कुमार सोमानी, महासचिव धर्म शुन्दर बज्राचार्य तथा पदाधिकारी सदस्य रविन शाक्य लगायतको सहभागिता रहेको थियो।

विभागले गत वर्ष जारी गरेको निर्देशकामा सुनचाँदी लगायतका बहुमुल्य वस्तुको कारोबार गर्ने संस्थाले सूचकको रुपमा काम गर्नुपर्ने र होलसेल कारोबार गर्ने ब्यवसायीको बिवरण विभागमा पठाउनुपर्ने लगायतका विभिन्न विषय उल्लेख छ।

प्रकाशित मिति: : 2021-09-16 17:38:00

प्रतिकृया दिनुहोस्