घाइतेको अवस्था बुझ्न मन्त्री श्रेष्ठ प्रदेश अस्पतालमा

कर्णाली प्रदेशका उर्जा विकास तथा जलस्रोत मन्त्री दिनबन्धु श्रेष्ठले दुर्घटनामा परी घाइते भएकाहरुको अवस्थाबारे जानकारी लिएका छन्।

बुधबार वीरेन्द्रनगरको रेडियो नेपाल चोकमा सवारी दुर्घटनामा घाइते भइ अस्पतालमा उपचाररत बिरामीको अवस्थाबारे मन्त्री श्रेष्ठले जानकारी लिएका हुन्।

सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडीको स्टेरिङ फेल भएर दुर्घटना हुँदा १२ जना घाइते भएका थिए। दुर्घटनाबाट घाइते हुनेमा अधिकांश जुम्लाका छन्।

घाइते भएकाहरुको प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।

दुर्घटनाबाट घाइते भएका १२ जना मध्ये छ जना डिस्चार्ज भएर घर फर्किसकेको सुर्खेत बुलबुले यातायातका इन्चार्ज डम्बर सुनारले जानकारी दिए।

उपचाररत ६ जना मध्ये एक छ महिने बालक आयुसजंग परियारलाई बढी चोट लागेपनि उनी खतरामुक्त रहेको प्रदेश अस्पतालले जनाएको छ।

'मेरी श्रीमती र दुईवटा बच्चा घाइते छन्। सानो बाबुको बायाँ खुट्टा र बाँगा हात भाचिएको छ' आयुसजंगका बाबू कृष्ण कुमार परियारले भने, 'अस्पतालले खतरामुक्त भने पनि हाम्रो मनमा डर अझै छ। यता सम्भव छैन भने हामी बाहिर लिएर उपचार गर्न तयार छौं।'

दुर्घटना भएको गाडी जुम्ला जान लागेको र अधिकांश जुम्लाका यात्रु घाइते भएपछि आफू अस्पताल पुगेको मन्त्री श्रेष्ठले बताए।

'अहिले बिरामीको अवस्था बुझ्न आएको हुँ,' उनले भने, 'बिरामीको उपचारको लागि सरकारले गर्नुपर्ने सहयोगका लागि तयारी छु, चिन्ता नलिनुहोला भनेको छु।'

प्रकाशित मिति: : 2021-09-16 13:22:00

प्रतिकृया दिनुहोस्