मुगुमा बालबालिकामा ज्वरो र निमोनियाको संक्रमण, अस्पतालमा औषधिको अभाव

File photo
File photo

मुगुका गाउँगाउँमा ज्वरो र निमोनियाको प्रकोप फैलिएको छ। यस्ता बिरामीमध्ये अधिकांश बालबालिका छन्। बिरामी बढेसँगै जिल्ला अस्पताल र स्वास्थ्यचौकीमा उपचार गराउन आउने बालबालिकाको संख्या बढेको छ।

जिल्ला अस्पतालमा दिनमा ७० जनासम्म बिरामी आउने गरेकामा ५० जना बालबालिका छन्। जसमध्ये ५० प्रतिशत बालबालिकालाई ज्वरो र निमोनियाको लक्षण रहेको डा. डबल मल्लले बताए। ‘एक्कासि बालबालिकाहरू धमाधम बिरामी पर्न थालेका छन्,’ उनले भने, ‘उपचारका लागि आएकामध्ये सबैजसो ज्वरो र निमोनियाका छन्।

उनले पाँच वर्षमुनिका बालबालिका निमोनिया र ज्वरोबाट बढी प्रभावित भएको पाइएको बताए।  बालबालिकामा रुघाखोकी, टाउको दुख्ने, शरीर दुख्नेलगायत समस्या पनि देखिएको जिल्ला अस्पतालले जनाएको छ।

१० महिने शिशुलाई नियोनिया भएपछि जिल्ला अस्पताल ल्याएको सोरु गाउँपालिका कालैकी बाँचु सुनारले बताइन्। ‘चार दिनसम्म अस्पतालको इमर्जेन्सीमा राखिए पनि अझै स्वास्थ्यमा सुधार आएको छैन’, उनले भनिन्, ‘गाउँमा पनि घरैपिच्छे बालबालिका बिरामी रहेका छन्।’ एक साताअघि अस्पतालमा भर्ना गरिएका पाँच महिने एक शिशुको ज्यान गएको थियो।

भदौ लागेदेखि सबै शय्या बिरामी बालबालिकाले भरिएको जिल्ला अस्पतालले जनाएको छ । मुगु अस्पतालमा अहिले १५ शय्यामा बिरामीको उपचार भइरहेको छ।

‘बेडमा ठूला मान्छे बिरामी छैनन्’, डा. मल्लले भने, ‘सबै बेड बालबालिकाले नै भरिएका छन्।’

बिरामी बालबालिकाको संख्या बढेपछि अस्पतालमा औषधिको अभाव हुन थालेको अस्पतालकी अनमी सावित्रा मल्लले बताइन्। अहिलेको जसरी नै बिरामी थपिए एक हप्तामै अस्पताल औषधिविहीन हुन सक्ने उनको भनाइ छ। 

प्रकाशित मिति: : 2021-09-16 13:02:00

प्रतिकृया दिनुहोस्