साहित्यकार झमक घिमिरेलाई आवासीय भवन हस्तान्तरण

साहित्यकार झमक घिमिरेलाई काठमाडौं गोठाटारमा निर्माण गरिएकाे आवासीय भवन हस्तान्तरण गरिएको छ।

घिमिरेको संघर्ष र प्रेरक व्यक्तित्वको सम्मानमा करिब ३ वर्षअघि नेपाल सरकारकाे तर्फबाट शहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि ठेक्का सम्झौता गरी निर्माण शुरु गरेको थियो।

कागेश्वरी मनोहरा नगरपालिका गोठाटार बालुवाखानीस्थित करिब १२ आना जग्गामा आवास निर्माण भइसकेपछि साहित्यकार घिमिरेलाई बिहिबार आवास हस्तान्तरण फारमको प्रमाणपत्र प्रदान गरिएकाे हाे।

प्रमाणपत्र ग्रहण गर्दै नेपाल सरकार र निर्माण कम्पनी तथा यस कार्यमा समन्वय गर्ने सबैलाई घिमिरेले मुस्कुराउँदै धन्यवाद व्यक्त गरिन्।

करिब डेढ दर्जन कृतिका लेखक साहित्यकार झमक घिमिरेले ‘जीवन काँडा कि फूल’ कृतिका लागि लोकप्रिय मदन पुरस्कार प्राप्त गरेकी छन् भने सयौं सम्मान तथा पुरस्कारहरु प्राप्त गरेकी छन्।

भवन निर्माण सम्पन्न भैसकेको धेरै समय भएता पनि कोरोना महामारीका कारण भवन हस्तान्तरणको कार्यक्रम औपचारिक गर्न नसकिएको झमक घिमिरे साहित्य कला प्रतिष्ठानकी उपाध्यक्ष अनिता लामाले बताइन्।

लामासँगै शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख मचाकाजी महर्जनले घिमिरेलाई भवनको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। 

प्रकाशित मिति: : 2021-06-24 13:42:00

प्रतिकृया दिनुहोस्