पश्चिमाञ्चल अस्पतालमा अक्सिजन प्लान्ट स्थापना अभियान

गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सरकारले गत वर्ष कोरोनाको पहिलो चरण शुरु भएलगत्तै कोभिड–१९ को उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको थियो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको यस अस्पतालमा ५० शय्या कोरोना सङ्क्रमितको उपचारका लागि छुट्याइएको छ। 

पछिल्लो समय सङ्क्रमण तीव्ररूपमा बढ्दै जाँदा कोरोना उपचारको ‘लेबल एक’ र ‘लेबल दुई’ दुवैको उपचार गर्ने गरी तोकिएको अस्पतालमा उपचारका लागि शय्या अभाव हुन थालेपछि अस्पतालले क्षमता विस्तार गर्न लागेको छ। 

अहिले अस्पतालमा भर्ना भएका अधिकांश कोभिड–१९ का बिरामीलाई उपचारमा अक्सिजन आवश्यक छ। अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नहुँदा निजी कम्पनीबाट आयात गर्नुपर्ने बाध्यता छ। 

प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट नरहेको र अक्सिजन अभावमा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आउन लागेपछि पोखराका निजी क्षेत्रका अगुवाहरुको पहलमा नागरिकस्तरबाट अक्सिजन प्लान्ट स्थापनाको योजना अघि बढाइएको छ। 

पोखराको अग्रणी व्यापारिक घराना बतास अर्गनाइजेशनको पहलमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नागरिकस्तरबाटै अक्सिजन प्लान्ट स्थापना गर्ने अभियान शुरु गरिएको छ। 

सो अभियानमा अहिले यहाँका उद्योगी, व्यवसायी, व्यक्ति तथा संस्थाबाट स्वतस्फूर्त रकम सङ्कलन भइरहेको छ। अस्पतालमा कम्तीमा रु तीन करोड लगानीमा छिट्टै प्लान्ट स्थापना गरिने अभियन्ता एवं सो अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले बताए। 

पोखरासहित गण्डकी प्रदेशमा अक्सिजनको अभावमा बिरामी उपचारबाट बञ्चित हुन नपर्ने उद्देश्यले प्लान्ट स्थापना गर्ने योजना अघि बढाइएको उनले बताए।

'अस्पतालमा अक्सिजन उपलब्धताको कमीले हुने मृत्युबाट जोगाउन अक्सिजन प्लान्ट राख्ने यो पोेखरेलीको साझा अभियान हो। सहयोग आउने क्रम जारी रहेको छ, सकेसम्म छिटोभन्दा छिटो सामान आयात गरी प्लान्ट स्थापनाको काम अघि बढाउँछौँ' अभियनकर्मी बतासले भने। 

अक्सिजन प्लान्टका स्थापना अभियानका लागि रु एकदेखि आफूले चाहेजति रकम प्रदान गर्ने सकिने छ। सो अभियानमा हालसम्म रु दुई करोड ५० लाख सहयोगको प्रतिबद्धता आइसकेको छ। अभियानमा बतास फाण्डेशनबाट रु २५ लाख र आफनो विभिन्न कम्पनीबाट रु २५ लाख गरी रु ५० लाख सहयोग प्रदान गरिने अध्यक्ष बतासले जानकारी दिए। 

प्लान्ट स्थापना अभियानमा स्व समाजसेवी सूर्यबहादुर केसीको स्मृतिमा केसी ग्रुप, अटोवेज प्रालिका प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेल र सेलवेज डिपार्टमेन्टल स्टोर्सका सञ्चालक सुशील प्रधानाङ्गबाट जनही रु २५ लाख सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। 

यसैगरी सुपर मादी हाइड्रोपावरका अध्यक्ष पुष्पज्योति ढुङ्गाना, क्वालिटी एग्रिगेटका सञ्चालक देवबहादुर ज्वारचन र बी रिभर माइनिङ प्रालिबाट जनही रु २५ लाखका दरले सहयोगको प्रतिबद्धता गरिएको छ। अन्य व्यक्ति तथा संस्थाबाट समेत सहयोग रकम प्राप्त हुने क्रम चलिरहेको बताइन्छ। रासस 

प्रकाशित मिति: : 2021-05-15 12:53:00

प्रतिकृया दिनुहोस्