विदेश जाने विद्यार्थीलाई वातावरण सहज बन्दै, युकेले खुलायाे भिसा आवेदन

कोभिड–१९ को प्रभावले उच्च शिक्षा हासिल गर्न विदेश जानबाट रोकिएका विद्यार्थीहरुका लागि वातावरण सहज बन्दै गएको छ । 

विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट/एनओसी) खुला गर्नु, जिल्ला प्रशासन कार्यालय काठमाडौंले परीक्षा लिने वातावरण मिलाउनु, युकेले भिसा आवेदनका लागि खुला गर्नु र अन्तर्राष्ट्रिय उडान विस्तारै खुकुलो हुनुले विद्यार्थीहरुको लागि सहज हुँदै गएको शैक्षिक परामर्श व्यवसायीहरुको भनाई छ ।

सरकारले २०७६ फागुन १८ गतेबाट विदेश पढ्न जाने विद्यार्थीका लागि अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट/एनओसी) रोकेसँगै विद्यार्थीहरु बाहिर जाने ‘च्याप्टर’ बन्द भएको थियो । भदौ ९ गतेको मन्त्रिपरिषदले एनओसी खुला गरिसकेको छ ।

योसँगै उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुले दिने भाषा परीक्षा जस्तै, आइइएलटीएस, टोफेल, अकुपेस्नल इंग्लिस टेस्ट, जीआरई, जेएलएफडब्ल्यु, जीम्याटलगायतका भाषा परीक्षा सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ । 

भदौ २६ गते जारी गरेको सूचनामा सामाजिक भौतिक दूरी कायम राखी परीक्षाहरु शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको परिक्षा सञ्चालन कार्यविधि,२०७७ ले तय गरेको विधि र प्रकृया अपनाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा निर्धारित स्वास्थ्य मापदण्ड समेतको विपरित नहुने गरी सञ्चालन गर्न सकिने प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए ।

कोरोना भाइरसको जोखिम रहेकै बेला पहिलोपटक युकेले विद्यार्थीहरुको लागि भिषा आवेदन खुला गरेको छ । शैक्षिक परामर्श संघ(ईक्यान)का केन्द्रिय सदस्य आशिक कार्कीले सोमबारबाट भिसा आवेदन खुला गरेको जानकारी दिए । 

उनले युकेका लागि गत वर्ष भिषा आवेदन दिएका विद्यार्थीहरु मध्ये ९६ प्रतिशतले भिषा पाएका थिए ।  ‘हाम्रो अपेक्षा गत वर्षको भन्दा बढी छ भन्नेमा छौं’ केन्द्रिय सदस्य कार्कीले भने । युकेपछि अष्ट्रेलियाले पनि भिषा आवेदनको लागि खुला गर्ने तयारी गरिरहेको छ ।   बायोमेट्रिक सेवा बाहेक अन्य सबै सेवा सुचारु गरेको छ । बायोमेट्रिक सेवा पनि चाढैनै खुल्ने जानकारी प्राप्त भएको छ । पछिल्लो समय अष्ट्रेलियापछि सबैभन्दा बढी विद्यार्थीहरु अध्ययनमा जाने देश भित्र जापान परेको छ । 

आर्थिक वर्ष २०७५/०७६ मा ६३ हजार २५९ जनाले एनओसी लिएका मध्ये सबैभन्दा बढी अस्ट्रेलियाको लागि ३६ हजार ३२४ थिए । त्यस्तै २०७६/०७७ को माघसम्ममा ३२ हजार विद्यार्थीहरुले एनओसी लिएका थिए ।

विदेशिने विद्यार्थीमध्ये ६० देखि ७० प्रतिशतसम्म अस्ट्रेलिया र जापानमा जाने गरेका छन । त्यसबाहेक न्यूजिल्याण्ड, बेलायत, अमेरिका, दक्षिण कोरिया, चीन ,क्यानाडा र युरोप लगायतका मुलुकमा अध्ययनका लागि जाने तयारीमा रहेका करिब ३ हजार विद्यार्थीहरु नेपालमै रोकिएका छन । 

प्रकाशित मिति: : 2020-09-15 12:43:11

प्रतिकृया दिनुहोस्