कोरोना महामारीको बेला कालाेबजारी गर्ने वीरगञ्जका ५ वटा पसलेलाई स्थानिय प्रशासनले जरिवाना तिराएको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीले वीरगञ्ज महानगरपालिकाको राधेमाई टोल र बिन्दबासीनीमा रहेको ५ खाद्यन्न तथा किराना पसललाई कारवाही गरेको हो।
मूल्य सूची नराखेको तथा खरिद र बिक्री विल उपलब्ध गराउन नसकेको एवं म्याद गुज्रेका समानहरु संचित गरी राखेको आरोपमा पसलहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिम ७० हजार जरिवाना तिराउनुको साथै म्याद नाघेका खाद्य पदार्थ नष्ट गरेको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले जानकारी दिए ।
‘अनुगमनको क्रममा पहिलो पटक कार्वाहीमा परेकाहरुलाई अब खाद्य बस्तुहरुको कालोबाजारी तथा मूल्यबृद्धि गरेको भेटिएमा कानून बमोजिम कडा कारवाही गरिने चेतावनी दिइएको छ,’ प्रमुख जिल्ला अधिकारी तामाङ्गले भने।
खाद्यान्नको कालाबजारी गर्ने वीरगञ्ज महानगरपालिका १९ बिन्दबासीनीको मनिष गल्ला भण्डार एण्ड ट्रेड सप्लायर्स र शशि किराना सन्दिप किराना तथा गल्ला भण्डारलार्ई २०/२० हजार रुपैयाँ जरिवाना तथा वीरगञ्ज महानगरपालिका १३ राधेमाई टोलको आसिका जनरल स्टोर र चन्दन ट्रेड ईन्टरनेसनललाई ५/५ हजार रुपैया जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताए ।
अनुगमन टोलीले म्याद गुज्रिएका पेय पदार्थ समेत नष्ट गरेको थियो । अनुगमन टोलीले आइतबारसमेत वीरगञ्जको पानगल्ली रोड तथा रानिघाटमा बजार अनुगमन गरी कालाबजारी गर्नेलाई कारवाही गरेको थियो।