रातो मच्छिन्द्रनाथको रथ यात्राको शुभ साइत जुरेको छ।
सोमबार पाटन मंगलबजारस्थित सोह्रखुट्टे पाटीमा ज्योतिषहरूबीच भएको छलफलपछि भदौ २९ गतेको साइतमा मूर्तिलाई अवतरण गराई बुङ्मती लैजाने निर्णय भएको हो।
२९ गते बिहान १० बजेर ५ मिनेट देखि १० बजेर २० मिनेट भित्रको शुभसाइतमा रथबाट मच्छिन्द्रनाथको मूर्तिलाई अवतरण गराई बुङ्मती लैजाने निर्णय भएको ज्योतिष कृति किरण जोशीले बताए।
यसवर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरिकन मूर्तिलाई बुङ्मती पुर्याएको चार दिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने उनले बताए।
वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नुपर्ने रथ यात्रा यस वर्ष कोराेना महामारीका कारण रोकिएको थियो। लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि गत बिहीबार स्थानीय केही युवाहरूले प्रशासनको अनुमति बिना रथ तान्नेका थिए।
त्यसपछि स्थानीय ज्यापु समाजले शुक्रबार क्षमा पूजा गरी आइतबार रथ तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याएका थिए।