काठमाडौंको बुद्धनगरस्थित एक सैलुनका सञ्चालक मृत भेटिएका छन्।
बुद्धनगरस्थित न्यु मनोकामना हेयर ड्रेसर सैलुनका सञ्चालक अन्दाजी ३५ वर्षका अशोक ठाकुर मृत भेटिएको महानगरीय प्रहरी वृत्त, बानेश्वरले जानकारी दिएको छ।
आधा सटर खुलेको अवस्थामा ठाकुरलाई ढलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले ठाकुरको मृत्यु शंकास्पद नदेखिएको बताएको छ। उनको शव पोस्टमार्टमका लागि भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पताल लगिएको पनि वृत्तले जानकारी दिएको छ।
बाराको निजगढ नगरपालिका ८ घर भएका ठाकुरले करिब १० वर्षदेखि उक्त सैलुन सञ्चालन गर्दै आएको प्रहरीले बताएको छ।