धनुषाको बटेश्वर गाउँपालिकामा काठ ओसार्न लागेको समूह र प्रहरीबीच झडप हुँदा दुई प्रहरीसहित भएका छन्।
बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा काठ ओसारिरहेको सूचना पाएपछि आइतबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दीपक राय नेतृत्वमा टोली खटिएको थियो।
प्रहरीले स.१ त. ६०४० नम्बरको ट्याक्टरमा सखुवाको काठ लोड गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई कार्यालयतर्फ ल्याउने क्रममा ६०/७० जनाको समूहले एक्कासी पछाडिबाट ढुंगा प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए।
ट्रयाक्टरमा राखिएको सखुवा काठको गोलिया प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय ल्याउँदै गर्दा त्यहाँका स्थानीयले प्रहरीमाथि अचानक ढुंगामुढा गर्न सुरू गरेका थिए।
स्थानीयको ढुंगामुढाबाट प्रहरी निरीक्षक रायको बाँया आँखामाथि चोट लागेको छ भने प्रहरी जवान रामविश्वास पण्डितको टाउकोको पछाडि भागमा चोट लागेको मिश्रले जानकारी दिए।
घाइते भएका इन्स्पेक्टर राय र प्रहरी जवानको महेन्द्रनगरकै एक क्लिनिकमा उपचार भइरहेको छ। प्रहरी निरीक्षक रायको निधारमा ६ वटा टाका लागेको छ।
उक्त समूहले प्रहार गरेको ढुंगा लागेर प्रहरीको ना १ झ १२५० नम्बरको गाडीको पछाडिको सिसा फुटेको छ।
स्थानीयका अनुसार प्रहरीले लाठी चार्ज गर्दा स्थानीय तीन जना समेत घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
उक्त ट्याक्टरमा लोड गरिएको सखुवाको ८ थान गोलिया काठ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको र फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता मिश्रले बताए।