बाग्लुङमा बाढीले बगाएकाे १४ शव भेटियाे, चार जनाको सनाखत

बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका ९ बोबाङमा मृत्यु भएकामध्ये चार शवको सनाखत भएको छ।

सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए।

उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुने छ। १० शवको अझै सनाखत हुन सकेकाे छैन।

बुधबार राति आएको बाढी र पहिरोले वस्तीमा क्षति पुर्याएको छ। केही मानिसले भागेर ज्यान बचाए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो। स्थानीयले ३५ जना बेपत्ता भएको बताएका छन्। कतिपयको घरमा पाहुनाहरु पनि आएकाले बेपत्ता भएकाहरुको संख्या एकिन भएको छैन।

हराइरहेकाेमा ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन् ।

त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया नै दिलमाया घर्तीमगर र उनको छोराका ६ वर्षीय बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए।

बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ। आज बिहानैदेखि खोजी शुरु भएको छ। 

पहिरोले फलेघर र सुपुर्दुङका दर्जन बढी घर बगाएको छ भने वडा नं. ८ सम्म आइपुग्दा ४० घर बगेका छन्। 
 

प्रकाशित मिति: : 2020-09-04 07:57:11

प्रतिकृया दिनुहोस्