ललितपुरमा भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू

जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि शुक्रबार जिल्लामा कर्फ्यू लगाउने निर्णय गरेको छ। 

भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाउने निर्णय भएको ललितपुरमा सहायक प्रजिअ ललितकुमार बस्नेतले जानकारी दिए। 

बस्नेतका अनुसार भोलि एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी भएको हो। कर्फ्यू ललितपुरको बल्खु पुलदेखि चक्रपथ मनहरा पुलभित्र महानगरभित्रको क्षेत्रमा लागू हुने उनले बताए।

बिहीबार ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उल्लंघन गर्दै स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो। झडपमा इन्सपेक्टर रमेश कुमार श्रेष्ठसहित ७ प्रहरी घाइते भएको  महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशील कुमार यादवले जानकारी दिए। 

उनका अनुसार घाइतेहरुको अल्का अस्पतालमा उपचार भइरहेको छ। यस्तै भीडले ट्राफिक प्रहरीको एउटा मोटरसाइकल समेत तोडफोड गरेको छ। यस्तै केही स्थानीय नि घाइते भएका छन्।  

कोभिड १९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ । तर, सरकारको निर्णयविपरित निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि भोलि पनि सम्भावित घटनालाई मध्यनजर गरेर प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

प्रकाशित मिति: : 2020-09-03 21:59:06

प्रतिकृया दिनुहोस्