रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले रथ तान्न खोज्नेपछि पुल्चोकमा झडप भएको छ। बिहीबार निषेधाज्ञा उल्लंघन गर्दै भेला भएका उनीहरूले आफैं रथ तानेर पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पुर्याएका थिए।
उपत्यकाका तीनै जिल्ला प्रशासनले यतिखेर कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्दै भिडभाड र भेला गर्न रोक लगाइरहेका छन्।तर, मत्स्येन्द्रनाथ जात्राको सरोकार सांस्कृतिक बाजागाजा गर्नुसँग मात्र नभएर रथ ६/६ महिना बुङ्मती र पाटनमा राख्ने परम्परा रहेको भन्दै उनीहरुले संस्कृति मास्न नपाइने भन्दै नारावाजी लेखिएका प्लेकार्ड बोकेका थिए।
दिउँसो १ बजेपछि अवस्था तनावपूर्ण बन्दै गएकाे छ। अहिले साे क्षेत्रमा प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्रमक देखिएका थिए।
प्रहरीले वाटर क्यानन लिएर पुगेपछि युवाहरुले ढुंगामुडा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले पानीको फोहराले हान्दै युवाहरुलाई लखेटेकाे थियाे। त्यसक्रममा केही राउण्ड अश्रु ग्यास पनि प्रहार गरिएकाे थियाे।
प्रहरीलाई लखेटेपछि पुल्चोकमा सशस्त्र प्रहरी पनि परिचालित भएको छ।
मत्स्येन्द्रनाथलाई सूर्य दक्षिणायन (साउनदेखि) हुँदा बुङ्मती र उत्तरायण (माघदेखि) हुँदा पाटन मत्स्येन्द्रबहालस्थित मन्दिरमा राख्नुपर्ने परम्परा छ। यो भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव मल्ल र कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजुको पालादेखि चल्दै आएको परम्परा हो।
मत्स्येन्द्रनाथका ज्योतिषी कीर्तिमदन जोशीका अनुसार असोज २ गतेबाट एकमहिने मलमास भएकाले रथयात्रा गर्न मिल्दैन। मलमास सकिएको चार दिनपछि दसैं सुरु हुन्छ। दसैंमा बुङ्मतीमा मत्स्येन्द्रनाथको विशेष पूजा गर्नुपर्छ।
मत्स्येन्द्रनाथलाई साउन १० गते नागपञ्चमीमा पुल्चोकमा रथारोहण गरिएको थियो। परम्पराअनुसार रथारोहणको भोलिपल्ट रथ तान्नुपर्छ।