मलमास सुरू हुन लागेपछि निषेधाज्ञा तोडेर मच्छिन्द्रनाथ रथ तान्ने प्रयास

लामो समयदेखि रोकिएको नेपालकै सबैभन्दा लामो जात्रा  रातो मच्छिन्द्रनाथको रथलाई स्थानीय युवा र केही गुठीयारहरूले बिहीबार निषेधाज्ञाको अवज्ञा गर्दै तान्ने प्रयास गरेका छन्।

मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती पुर्‍याउनुपर्ने प्रचलनअनुसार स्थानीयले बिहिबार निषेधाज्ञा मिचेर तानेका हुन्।

कोरोना महामारी र लकडाउनका कारण निर्धारित तिथिमा रथ यात्रा हुन सकेको छैन।

मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमति लैजानुपर्ने तर गुठी संस्थानले रथ तान्ने व्यवस्था नगराइदिएको र समय घर्कंदै गएकाले सर्वसाधारण जनता आफैं आएर तान्न सुरू गरेको रथ निर्माणका नाइके दिलकुमार बहारीले जानकारी दिए।

आगामी असोज २ देखि मलमास लाग्ने भन्दै त्यो समयमा रथ तान्न मिल्दैन। दसैंसम्म मच्छिन्द्रनाथलाई बुंगमती पुर्‍याउनुपर्ने भएकाले निश्चित मान्छे राखेर भए पनि रथ तान्नैपर्ने बाराहीले भने।

गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन। लकडाउन खुकुलो भएसँगै नयाँ साइत निकालेर क्षमापूजा गरेपछि पुल्चोकमा निर्माण सुरू गरिएको थियो।

पछिल्लाेपटक भाद्र १ गतेबाट तानिने भने पनि गुठी संस्थाकाे आदेशका कारण राेकिएकाे थियाे।

प्रकाशित मिति: : 2020-09-03 12:37:02

प्रतिकृया दिनुहोस्