कलेजो प्रत्यारोपण सर्जन डा. सुजितकुमार साह भारतमा मृत फेला परेका छन् । भारतको मेधान्ता अस्पतालमा कार्यरत डा. साह भारतको गुरूग्राममा मृत फेला परेका हुन्।
डा. साहको शव दिल्लीको गुडगाउँस्थित अपार्टमेन्टस्थित उनी बस्ने फ्ल्याटको भुइँमा फेला परेको थियो।
प्रहरीले ८ औँ तलाको बालकोनीबाट हामफालेर डा.साहले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।
पारिवारिक स्रोतका अनुसार पछिल्लो समय साह र उनकी श्रीमतीबीच राम्रो सम्बन्ध नभएको र श्रीमतीले छोडपत्रका लागि दबाब दिँदै आएकी थिइन् । त्यही दबाबले उनलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याएको आशंका साह परिवारले गरेको छ । मृतक साहको परिवारले पनि उनलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै छानबिनको माग गरेको छ ।
पञ्जावी मूलको युवती लक्ष्मीसँग विवाह गरेका डा.साह परिवारमा पछिल्लो केही समयदेखि समस्या सुरु भएको थियो।
विराटनगर स्थायी घर भएका डा. साह पछिल्लो दुई वर्षदेखि सुजित गुडगाँवको सेक्टर ४७ को ८०१ नम्बरको फ्ल्याटमा एक्लै बस्दै आएका थिए। उनको श्रीमती समेत चिकित्सक हुन्। पछिल्लोसमय ६ वर्षीया छोरीसँगै उनी पश्चिमबंगालमा बस्दै आएकी थिइन्।
भारतीय सञ्चारमाध्यमका अनुसार श्रीमतिले आफूहरू अलग अलग बस्दै आएको हुदाँ घटनाबारे जानकारी नभएको प्रहरीसमक्ष बयान दिएकी छन्।
डा. सुजित सोमबार साँझसम्म पनि मेदान्त अस्पतालमा ड्युटीमा थिए । र, सहकर्मीहरुका अनुसार त्यसदिन पनि उनी अन्य दिनजस्तै सामान्य अवस्थामा थिए । तर, मंगलबार एकाएक साहको मृत्युको खबरले उनीहरु सबैलाई स्तब्ध बनाएको छ । मेदान्तमै डा. साहसँगै कार्यरत विशेषज्ञ डा. एकानन्द सिंह बताए ।
कलेजो प्रत्यारोपणमा भारतमै चम्किलो ताराका रुपमा मानिने साहको निधनले चिकित्सा क्षेत्रले अपूरणीय क्षति व्यहोरेको उनले बताए।
जनकपुरको जानकी आवासीय माविबाट एसएलसीसम्मको अध्ययन गरेका डा. साहले सेन्ट जेभियर्स कलेज माइतीघरबाट आईएस्सी उत्तीर्ण गरेका थिए।
आइएस्सीपछि उनले मणिपाल मेडिकल कलेज पोखराबाट एमबिबिएस गरेका हुन्। नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका डा. साहले २ वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका विभिन्न जिल्लामा गएर काम गरेका थिए।
छात्रवृत्तिको करार सकिँदै गर्दा उनले भारतको स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थान, चण्डीगढबाट एमएस छात्रवृत्तिमा पढेका थिए। त्यसैगरी, भारतकै अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)बाट कलेजो प्रत्यारोपण सर्जरीमा एमसीएच गरेका हुन्।
उनी अहिले मेदान्तमा एसोसिएट कन्सल्टेन्ट लिभर ट्रान्सप्लान्टको रुपमा शिक्षण गर्दै आएका थिए भने सोही अस्पतालको कन्सल्टेन्ट लिभर ट्रान्सप्लान्ट सर्जनको रुपमा काम गर्दै आएका थिए।
३९ वर्षको उमेरमा नै विश्व जगतमा नै रोवटिक कलेजो प्रत्यारोपण सर्जनको रुपमा छाउन थालेका थिए।
पढाइमा एकदम अब्बल र पहिलादेखि नै खुंखार उनी प्रोफेसर, साथी सिनियर सबैलाई सम्मान गर्ने एकदमै जेन्टल मान्छे भएको उनका सहपाठी डाक्टर रविन खड्काले बताए।
‘संसारै हल्लाउने गरी, रोबोटिक कलेजो प्रत्यारोपणमा विश्व जगतमा नाम फैलाउँदै गरेका हाम्रा आत्मीय मित्र डा.सुजीत कुमार शाह मेदान्त अस्पतालको क्वार्टरबाट हाम फालेर आत्महत्या गरेको कुराले स्तब्ध बनायो’, खड्काले भने, ‘उनीसँग भर्खर भएको कुराकानीबाट केही समयपछि नेपाल आइ सेवा शुरु गर्ने कुरा सुन्दा/मनन गर्दा उनले आत्महत्या गरेको कुरामा कति पनि विश्वास लाग्दैन।’
उनले यो आत्महत्या नभएर हत्या भएको हुनसक्ने भन्दै निष्पक्ष छानबिनको मागसमेत गरेका छन्।
‘नायक सुशान्त सिंहको झै उनको पनि हत्या भएको भन्ने कुराका कुनै शंका छैन। तसर्थ यो हत्याको निश्पक्ष छानबिन होस्,’ उनले भने।