रौतहटको माधवनारायण नगरपालिका २ खैस्रैया चोकस्थित हनुमान मन्दिरका पुजारीको हत्या अभियोगमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा देवाही गोहानी नगरपालिका १ करुनियाका ३६ वर्षीय नरेश भन्ने राम नरेश राउत पटेल र सोही ठाउँका २८ वर्षीय बालकुमार पटेल रहेका छन्।
अन्य केही व्यक्ति पनि संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। उनीहरुलाई बुधबार बौधिमाई नगरपालिका ७ बाट पक्राउ गरिएको डीआईजी सिंहले बताए।
भदौ तीन गते साँझ पुजारी ६५ वर्षीय राम शाहको गोलि हानी हत्या भएको थियो।
प्रारम्भिक अनुसन्धानको क्रममा राम नरेश पटेलले कटुवा पेस्तोल प्रयोग गरी हत्या गरेको र बालकुमार पटेलले घटनास्थलमा मानिसको आवतजावत निगरानी गरेको खुलेको छ।
राम नरेश पटेलको बुबाले रकम ब्याजमा लिएको र रकम तिर्ने क्रममा बिबाद भएको पाइएको छ।
यसअघि गाउँका विभिन्न छलफलमा समेत पुजारी र राम नरेशको बिचमा पटक पटक विवाद हुने गरेको थियो।