कास्की जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयले दोषी ठहर्याएका २८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, पोखराका प्रमुख एसपी जीवनकुमार श्रेष्ठले विभिन्न क्षेत्रमा लुकिछिपी बसेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट पक्राउ गरिएको बताए।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सरकारी छाप दस्तखत तथा कीर्ते मुद्दामा एक वर्ष कैद सजाय र ५० रुपैयाँ जरिवाना तोकिएका २१ वर्षीय अनिल थापा मगर, बैंकिङ कसूर सम्बन्धी मुद्दामा ७ दिन कैद सजाय र ९ लाख ४ हजार रुपैयाँ जरिवाना तोकिएका ५३ वर्षीय धिरज गुरुङ छन्।
सार्वजनिक अपराध सम्बन्धी कसूरमा ३५० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना फैसला भएर फरार रहेका २६ जना व्यक्ति पनि पक्राउ परेका छन्। सबैलाई फैसला कार्यान्वयनका लागि अदालत र प्रशासन बुझाइएको छ।