गत शनिबार र आइतबार राति प्याङगोङ ताल क्षेत्रमा भएको झडपमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मारिएको दाबी गरिएको छ।
दुई महिनाअघि पनि दुई देशको सीमा क्षेत्र लद्दाखकै गलवान उपत्यकामा हिंसात्मक झडप हुँदा भारतका २० सैनिक मारिएका थिए।
यसपछि दुवै देशका सैनिकबीच सीमा क्षेत्रमा शान्ति कायम गर्ने सहमति भएको थियो। तर पनि फेरि झगडा परेको हो।
चिनियाँ सेनाले सीमा सम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतको आरोप छ। तर हताहतीबारे नभएकाे भारीय सेनाले जनाएकाे छ।
भारतले चिनियाँ सेनासँग झडप भएको बताएपनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया दिएकाे छैन।
विगत चार महिनादेखि भारत र चीनबीच लद्दाखको प्याङगोङ र लद्दाखको गलवान उपत्यकाको संवेदनशील क्षेत्रलाई लिएर तनाव भइरहेकाे छ। यता यही विवाद सल्टाउन भारतको पहलमा दुई देशका लेफ्टिनेन्ट जनरल तहमा वार्ता भइरहेको छ।
केही समय अगाडी वास्तविक नियन्त्रण रेखा नजिक चुशूल–मोल्दोमा रहेको सीमा चौकीमा पनि वार्ता भएकाे थियाे। तर कुनै निश्कर्ष निक्लेकाे छैन।
नियन्त्रण रेखामा अतिक्रमण बढेको दुवै तर्फको आरोप छ र यसलाई लिएर भिडन्तका घटना पनि हुने गरेका छन्।
गत जुन १५ मा भारत र चीनका सिमानामा तैनाथ दुई देशका सैनिकबीच गलवान घाँटीमा भएको हिंसात्मक भिडन्तले २० जना भारतीय जवान मारिएका, ७६ जना घाइते भए र १० जना चिनियाँ सेनाको कज्जामा परी रिहा भएका थिए। चीनले आफ्नोतर्फ केही जवान हताहत भएको जनाए पनि केकति हताहत भए भन्ने विवरण दिएन।
यसलाई सन् १९६२ को युद्धपछि पाँच दशकयताको सबैभन्दा घातक भिडन्तमा मानिन्छ।
चार हजार ५६ किमि लामो सिमाना जोडिएका भारत र चीनबीच अधिकांश क्षेत्रमा निर्धारित स्थायी सिमाना छैन र प्रायजसो ठाउँमा लाइन अफ कन्ट्रोल (एलएसी) अर्थात् वास्तविक नियन्त्रण रेखालाई नै सीमा रेखा मानिएको छ।