वीर अस्पतालकाे ओपीडी सेवा दुई दिन बन्द

 वीर अस्पतालकाे ओपीडी सेवा बन्द भएको छ । 

स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि दुई दिनका लागि ओपीडी सेवा बन्द गरिएको अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएकाे छ  ।

विज्ञप्तिमा लेखिएकाे छ- 'यस अस्पतालका केही चिकित्सक,स्वास्थ्यकर्मी तथा कर्मचारीमा काेराेना संक्रमण देखिएकाले ओपीडी आईसीयू,वार्ड र विभिन्न शाखामा सरसफाई,स्यानिटाइजेसन, कन्ट्याक्ट ट्रेसिङ लगायत काम गर्नुपर्ने भएकाले बहिरंग सेवा (ओपीडी) ४८ घण्टा (भाद्र १७ र १८) सम्म बन्द रहने व्यहाेरा सबैकाे जानकारीका लागि अनुराेध गरिन्छ ।'

वीरमा मंगलबार स्वास्थ्यकर्मीसहित थप १३ जनामा संक्रमण पुष्टि भएकाे छ । १ चिकित्सक, ६ नर्स, फार्मेसीमा कार्यरत २ स्वास्थ्यकर्मी र ४ सफाइकर्मीमा संक्रमण पुष्टि भएकाे हाे । अहिलेसम्म वीर अस्पतालमा स्वास्थ्यकर्मीसहित ७१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

साे अवधिमा इमर्जेन्सी सेवा, ज्वरो क्लिनिक, आईसीयू, पीसीआर प्रयाेगशाला, प्रशासन शाखाका सेवा भने सुचारू हुने विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार  एक चिकित्सक, ६ नर्स, दुई फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मी र चार सफाइ कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनका लागि ओपीडी सेवा बन्द गरिएको हो। 

निर्देशक सेन्चुरीले विज्ञप्ति सार्वजनिक गर्दै बुधबार र बिहीबारका लागि ओपीडी सेवा बन्द भएको जानकारी गराएका हुन्। 

वीर अस्पतालमा कार्यरत ७१ कर्मचारीमा संक्रमण पुष्टि भइसकेको छ। संक्रमण पुष्टि भएका सबैलाई होटलको आइसोलेसनमा पठाइएको छ। ओपीडी सेवा बन्द भए पनि ज्वरो क्लिनिक, आईसीयू, पसीआर ल्याब, प्रशासन शाखाका सेवा भने सञ्चालन हुने विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: : 2020-09-02 00:14:30

प्रतिकृया दिनुहोस्