कीर्ते मुद्दामा यातायातका कर्मचारीसहित ५ जना कारागार चलान

संगठित रूपमा सरकारी छाप र दस्तखत कीर्ते गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित ५ जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल बास्तोलाको एकल इजलासले मुद्दामा थुनछेक आदेश गर्दै चोरीका मोटरसाइकल र स्कुटरका नक्कली कागजात बनाइ बेचबिखन गिरोहमा संलग्न कम्प्युटर अपरेटर रानासहित ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी कार्याय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले उक्त मुद्दाका ५ जना पुर्पक्षका लागि कारागार चलान गरिएको बताउँदै १० जना धरौटीमा रिहा भएको जानकारी दिए ।

उनका अनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा यातायात कार्यालय कैलालीका कम्प्युटर अपरेटर जितेन्द्र राना, कञ्चनपुरको लालझाँडी गाउँपालिकाका रामनिवास राना, शुक्लाफाँटा नगरपालिकाका श्यामकुमार राना, बेदकोट नगरपालिका–६ का हरेन्द्र राना र बेदकोट नगरपालिका–१० का सुवेश राना रहेका छन् ।

प्रकाशित मिति: : 2020-09-01 18:26:34

प्रतिकृया दिनुहोस्