तनहुँमा तीन फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले छुट्टाछुट्टै तीन वटा मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ। 

गौबध, सवारी ज्यान र सार्वजनिक मुद्दाका फरार तीनजनालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो। 

गौबध मुद्दामा फरार रहेका शुक्लागण्डकी नगरपालिका-२ दुलेगौँडा निवासी ३१ वर्षीय भरत थापा भन्ने विशाल पुनउपर जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको थियो। 

१८ चैत २०७१ मा अदालतले उक्त फैसला गरेपछि उनी फरार रहँदै आएका थिए। पक्राउ परेका उनलाई जिल्ला अदालतसमक्ष पेश गरेकामा बाँकी रहेको कैद भुक्तानका लागि सोमबार कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए। 

त्यसैगरी भिमाद नगरपालिका-१ डुम्रेबेँसी बस्ने २२ वर्षीय बालकृष्ण भुजेल भन्ने बलबहादुर घर्तीलाई सवारी ज्यान मुद्दामा फरार रहेकाले तीन वर्षपछि पक्राउ गरेको छ। 

३१ साउन २०७४ मा जिल्ला अदालतको फैसलाले निजलाई दुई वर्ष कैद हुने गरी सजाय ठहर गरेकामा उक्त फैसलाउपर एक वर्ष ११ महीना पाँच दिन कैद भुक्तान नगरी फरार रहेकाले उनलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले जानकारी दिए। 

त्यसैगरी केही सार्वजनिक अपराध मुद्दाका फरार रहेका व्यास नगरपालिका-१३ पोखरीभञ्ज्याङ निवासी २४ वर्षीय सुनिल बाचेलाई पाँच वर्षपछि प्रहरीले पक्राउ गरेको छ। रासस

प्रकाशित मिति: : 2020-09-01 11:23:31

प्रतिकृया दिनुहोस्