भारतीय र चिनियाँ सेनाबीच पुन: पूर्वी लद्दाखको पेङगङ सो इलाकामा झडप

भारतीय र चिनियाँ सेनाबीच पुन: पूर्वी लद्दाखको पेङगङ सो इलाकामा झडप भएको छ। सिमानामा तैनाथ दुई देशका सेनाहरु बीच अगस्ट २९ र ३० को राति झडप भएको भारतीय संचारमाध्यमले जानकारी दिएको छ।

सेनाका पीआरओ कर्नेल अमन आनन्दले एक विज्ञप्ति जारी गर्दै भनेका छन्,‘ भारतीय सैनिकले पेङगङ सो तालको दक्षिणी किनारमा यस गतिविधिलाई स्टीमरोल गरिसकेका थिए र यसका लागि तयार छन्। भारतीय सेनाले दृढतापूर्वक चीनको एकतर्फी अभिप्रायलाई असफल बनाउन सबै सावधानीहरूको साथ स्थिति नियन्त्रणमा लिएको छ।’

विगत चार महिनादेखि भारत र चीनबीच लद्दाखको पेङगङ सो र लद्दाखको गलवान उपत्यकाको संवेदनशील क्षेत्रलाई लिएर तनाव भइरहेकाे छ । भारतको पहलमा दुई देशका लेफ्टिनेन्ट जनरल तहमा वार्ता भइरहेको छ।

केही समय अगाडी वास्तविक नियन्त्रण रेखा नजिक चुशूल–मोल्दोमा रहेको सीमा चौकीमा पनि वार्ता भएकाे थियाे। तर कुनै निश्कर्ष निक्लेकाे छैन।

नियन्त्रण रेखामा अतिक्रमण बढेको दुवै तर्फको आरोप छ र यसलाई लिएर भिडन्तका घटना पनि हुने गरेका छन् ।

गत जुन १५ मा भारत र चीनका सिमानामा तैनाथ दुई देशका सैनिकबीच गलवान घाँटीमा भएको हिंसात्मक भिडन्तले २० जना भारतीय जवान मारिएका, ७६ जना घाइते भए र १० जना चिनियाँ सेनाको कज्जामा परी रिहा भएका थिए। चीनले आफ्नोतर्फ केही जवान हताहत भएको जनाए पनि केकति हताहत भए भन्ने विवरण दिएन। 

यसलाई सन् १९६२ को युद्धपछि पाँच दशकयताको सबैभन्दा घातक भिडन्तमा मानिन्छ। 

चार हजार ५६ किमि लामो सिमाना जोडिएका भारत र चीनबीच अधिकांश क्षेत्रमा निर्धारित स्थायी सिमाना छैन र प्रायजसो ठाउँमा लाइन अफ कन्ट्रोल (एलएसी) अर्थात् वास्तविक नियन्त्रण रेखालाई नै सीमा रेखा मानिएको छ। 

त्यसैले सीमा सुरक्षामा खटिएका सैनिकबीच बेलाबेलामा झडप हुने गर्छ। 

प्रकाशित मिति: : 2020-08-31 12:33:32

प्रतिकृया दिनुहोस्