पाकिस्तानमा आएको विनाशकारी बाढी र पहिरोमा परी मृत्यु भएकाहरुको संख्या १३४ पुगेको छ।
देशको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले आफ्नो वेबसाइटमा राखेको विवरणमा मृतकहरुको सो संख्या जुन १५ देखि अगस्ट २९ सम्मको रहेको उल्लेख गरिएको छ।
अधिकारीहरुका अनुसार पछिल्लो समयमा आएको बाढी पहिरोमा परेकाहरुलाई खोजी तथा उद्धार कार्य पनि जारी नै राखिएको छ।
उद्धार तथा खोजी र उनीहरुलाई राहत प्रदान गर्नका लागि सरकारी तथा गैह्रसरकारी संघ संस्था र निकायहरु लागिरहेका छन्।
उत्तरपश्चिमी खैबर पख्तुखवा प्रान्तमा आएको बाढी पहिरोमा परेर कम्तीमा ४८ जनाको मृत्यु भएको छ भने अरु ४२ जना घाइते भएका छन्।
सिन्ध प्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रदेशभरिमा बर्षासम्बन्धी घटनाका कारण ८० जनाको मृत्यु भएको छ। तीमध्ये सवैभन्दा धेरै सिन्ध प्रान्तको प्रान्तीय राजधानी कराँचीमा ४७ जनाको मृत्यु भएको छ।
यस क्षेत्रमा पछिल्लो बिहीबार र शुक्रबार अविरल वर्षा भएको र त्यसपछि बाढी पहिरोका घटनाहरु पनि धेरै भएको जनाइएको छ।
पाकिस्तानको एक पत्रिका ‘डन’ले दिएको जानकारीअनुसार पाकिस्तानमा विगत ९० वर्षमा यो वर्ष सबैभन्दा बढी वर्षा भएको उल्लेख छ।
कराँचीको मौसम विभागले दिएको जानकारीमा उक्त नगरमा पहिलो पटक १२ घन्टामा नै निकै भारी मात्रामा पानी परेको थियो। भारी वर्षा र बाढीले कराँची शहरलाई ठूलो क्षति पुर्याएको छ। यहाँ हजारौँको संख्यामा सैनिकलाई उद्धारको लागि परिचालन गरिएको छ।
बाढीमा फसेका सयौँ व्यक्तिलाई उद्धार गरिएको छ भने यहाँका हजारौँ व्यक्ति बाढीबाट विस्थापित भएका छन। अकस्मातको भारी वर्षाका कारण यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ। त्यसैगरी यहाँका धेरै क्षेत्रमा भौतिक संरचनाहरुमा पनि क्षति पुगेको अधिकारीहरुले जनाएका छन्।